Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलिदेखि मुद्दाको पेसी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश श्रेष्ठ


    आइतबार, भाद्र १० २०८०
    890
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहज रुपमा न्याय दिने उद्देश्यले सोमबारदेखि पेसी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् ।

    संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भोलिदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।

    ‘पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेसी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौं जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ,’ प्रधानन्यायाधीश श्रेष्ठले भने । यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उनले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताए ।

    न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

    नेपालको ३१ औँ प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त भएका थिए । उनले भदौ ५ गते पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरी कार्यभार सुरु गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार