भीमकुमारी पाण्डे र दिनेशराज मैनाली
काठमाडौं । सरकारले राष्ट्रका लागि योगदान गर्नेहरुलाई संविधान दिवसको दिन प्रदान गर्ने विभूषणको पारदर्शीताका बारेमा हरेक बर्ष प्रश्न उठ्दैआएको छ । राजतन्त्रकालमा दिने गोरखा दक्षिणबाहु राष्ट्रका लागि योगदान गर्नेहरुलाई भन्दा राजा महाराजाहरुको स्तुतिगान गर्नेहरुलाई प्रदान गरिन्थ्यो । गणतन्त्र प्राप्तीपछि दिने विभूषणको बितरण पनि राष्ट्रका लागि योगदान गर्नेहरुलाई भन्दा पनि चाकडी चाप्लुसी र पहुँच हुनेहरुलाई दिने गरिएको भन्दै बिरोध हुने गरेको छ । यस बर्ष संविधान दिवसका दिन प्रदान गरिएको बिभूषण झन् विवादित भएको छ ।
बिभूषण प्रदान गर्दा निजामती प्रशासनदेखि प्रहरी र सेनामा समेत पारदर्शीता नभएको गुनासो छ । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले सचिवालयमा कार्यरत अधिकृत र उनीहरुका आफन्तलाई मात्र तक्मा दिएकोमा आलोचनाका पात्र बनेका छन् । नेपाल प्रहरीमा पहुँचका भरमा श्रीमान श्रीमतीले नै तक्मा पाएका छन् । गृहमन्त्रालयमा कार्यरत एसपी दिनेशराज मैनाली र प्रहरी अस्पतालमा कार्यरत उनकी श्रीमती भीमकुमारी पाण्डे दुवैले यो बर्ष प्रवल जनसेवा श्री (चतुर्थ) पदक पाएका छन् । श्रीमती पाण्डे प्रहरी अस्पतालकी डीएसपी हुन् ।
गृहमन्त्रालयमा कार्यरत एसपी मैनालीले प्रधानमन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीमार्फत् श्रीमती पाण्डेलाई पदक सिफारिस गराएका थिए । प्रहरी प्रधान कार्यालयले सिफारिस नै नगरे पनि उनले गृहमन्त्रालयमा पहुँच पुर्याएर तक्मा लिएका छन् । कोरोना महामारीमा नाकामा ड्युटी गर्ने र संक्रमित भएका प्रहरीले पनि तक्मा पाएका छैनन् । बाढीपहिरो र विपत्तिको उद्दारमा दूरदराजमा खटिएकालाई पदक दिएर हौसला बढाउनुपर्नेमा गृहमन्त्रालयमा कार्यरत मैनालीका दम्पत्तिलाई दिइएको छ । जसले पदक कसरी बितरण हुँदोरहेछ भन्ने छर्लङ्ग भएको छ ।
फोटोः भीमकुमारी पाण्डेको फेसबुकबाट