Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नीरा हत्या प्रकरणका अरोपित विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाइयो


    सोमबार, असार १८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। गत वैशाख ७ गते काठमाडौँको कपनस्थित सरस्वतीनगरमा ३२ वर्षीया नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोप लागेका झापा धुलाबारीका विनोद विश्वकर्मालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

    पक्राउ परेकै दिन कर्तव्य ज्यान मुद्दा अन्तर्गत २५ दिन हिरासतमा राखी अनुसन्धान गरेपछि उनलाई पुर्पक्षका लागि थुना पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता सीताराम रिजालले बताए । विश्वकर्माले हत्या गरी चोरी गरेको नीराको सिक्री किन्ने सुनचाँदी पसले पनि पुर्पक्षका लागि थुना पठाइएका थिए, उनी भने धरौटीमा छुटिसकेको प्रवक्ता रिजालले बताए ।

    नीरा गत वैशाख ७ मा दिउँसो ३ बजे ‘नीरु किचेन’ भित्रै मृत फेला परेकी थिइन् । उनको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । हत्या भएको हप्तौंसम्म दोषी पत्ता नलागेपछि रहस्यमय भनिएको हत्या प्रकरण छानबिन गर्न वैशाख १५ मा प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरी समेत सम्मिलित ८ सदस्यीय उच्चस्तरीय टोली बनाइएको थियो ।

    हत्या भएको दसौं दिन अर्थात् वैशाख १६ गते हत्या आरोपमा विश्वकर्मा झापाबाटै पक्राउ परेका थिए । लुटपाट गर्ने उद्देश्यले हत्या गरेको उनले स्वीकारेका थिए । प्रहरीका अनुसार निराले लगाएको सिक्री एक तोलाको थियो । विनोदले त्यो सिक्री बालाजुको पाथिभरा सुनचाँदी पसलमा लगेर ५५ हजार रुपैयाँमा बिक्री गरेर झापा गएका थिए । उतैबाट प्रहरीले पक्राउ गरेको थियो ।

    नीराका माइती पक्ष भने हत्यारा पत्ता लागे पनि योजनाकार अरु नै हुन सक्ने हुँदा हालसम्मको प्रहरी अनुसन्धानसित सन्तुष्ट छैनन् । ‘अरु प्रमाण नभेटिकन बोल्न गाह्रो, निष्पक्ष छानबिन हुनुपर्‍यो भनेर हामीले सबै ठाउँमा भनेकै छौं,’ नीराका दाजु यमलाल पाण्डेले भने, ‘त्यो घटना भएदेखि नीराको श्रीमान् हामीसँग टाढा—टाढा छन्, हाम्रो सम्पर्कमा छैनन्, बच्चालाई पनि मावलीसँग भेट गराएका छैनन् ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार