Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • इन्स्पेक्टर बढुवा प्रकरणः एआईजीको चलखेल आइजीपी र गृहमन्त्रीले रोक्न नसकेकै हुन् त ?

    भण्डारीले यसरी गरे बढुवामा गोलमाल


    शनिबार, असार २ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १२ मिनेट पाठ
  • काठमाडौं । जसरी आईजीपी नियुक्ति भए पनि  बसन्तबहादुर कुँवरबाट प्रहरी कर्मचारीहरुले धेरै कुराहरूको आशा गरेका थिए तर उनको कार्यशैली छोटो समयमै चरम विवादस्पद बनेको छ । खासगरी इन्स्पेक्टर बढुवामा उनी धेरै विवादमा परेका छन् । आईजीपी कुँवर भूटानी शरणार्थी प्रकरणदेखि प्रहरीका बढुवामा धेरै विवादमा परेका छन् । सुशासनको भाषण गरेर नथाक्ने र प्रहरी अधिकृतहरूको सरुवा बढुवा पारदर्शी बनाउँछु भन्ने कुँवरले डीआईजीदेखि इन्स्पेक्टरसम्मको बढुवा गर्दा ठीक बिपरीत प्रवृत्ति देखाएका छन् । खासगरी इन्स्पेक्टर बढुवा उनले चरम अन्यायपूर्ण ढंगले गरेका छन् ।

    नेपाल प्रहरीको आईजीपी पदबहाली गरेदेखि प्रहरीभित्र शुद्धिकरण–सुदृढीकरणको नारा दिएका कुँवरले ब्यवहार भने त्यसविपरीत गर्दैआएका छन् । अब्बल अधिकृतलाई पछार्र्न, आफ्नालाई बढुवा गर्न ऐन नियममा रहेका बढुवाका प्रावधान लत्याउने कार्य संगठन प्रमुखबाटै भयो । कानून कार्यान्वयन गर्ने प्रहरी संगठनभित्र गरेको भेदभावपूर्ण, अन्यायपूर्ण इन्स्पेक्टर बढुवा शैलीमाथि प्रश्न उठाउने धेरै आधार खुलिसकेका छन् । इन्स्पेक्टर बढुवा समितिका सदस्य सचिव मानवस्रोत विभागका प्रमुख एआईजी सन्दीप भण्डारीको विभेदपूर्ण बढुवा सिफारिसलाई खुलम खुल्ला बैधानिकता दिने कार्य कुँवरले गरेका छन् । प्रहरी अधिकृत भन्छन्– यस्तो अन्यायपूर्ण बढुवा हुँदा बढुवा समितिका अध्यक्ष आईजीपी र गृहमन्त्री जवाफदेहिताबाट पन्छिन मिल्छ ?

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवा प्रतिशत पारदर्शी हुन्छ गर्छु, कोही कसैले गलत गरे कारबाही गर्छु भनेर सार्वजनिक कार्यक्रममा सुशासनको भाषण गरेका थिए । त्यसको २ दिनपछि भएको इन्स्पेक्टरबाट डीएसपीमा भएको बढुवामा गरिएको अन्याय र आर्थिक चलखेलले उनको सुशासन देखाउने दाँत सावित गरिदिएको छ । इन्स्पेक्टर वढुवा कति विभेदपूर्ण, अन्यायपूर्ण र सामाजिक न्याय विपरीत छ भन्ने कुरा बढुवा सूचीमा मेरिटभित्रका २० जना नपरेबाटै स्पष्ट हुन्छ ।

    आफ्ना नजिकका र आर्थिक चलखेलका आधारमा इन्सपेक्टर बढुवा गर्न गृहमन्त्री श्रेष्ठलाई कन्भिन्स गर्न एआइजी र आईजीपी पटकपटक रातिराति गृहमन्त्रीकहाँ पुगेको आरोप लागेको छ । मेरिटमा अगाडि रहेका, लामो समयसम्म फिल्डमा काम गरेका, दुर्गम क्षेत्रमा खटिएका, दसौं बर्षसम्म इन्चार्ज नपाएका इमान्दार इन्स्पेक्टरहरूको विषयमा गलत ब्रिफिङ गर्दै चलखेल गरेको तथ्यको खण्डन गर्नसक्ने अवस्थामा आईजीपी कुँवर र गृहमन्त्री श्रेष्ठ छैनन् ।

    हुम्ला, दार्चुला, ताप्लेजुङमा काम गरेका इन्स्पेक्टरलाई बढुवा गरे भनेर न त एआइजी भण्डारीसँग जवाफ छ न त आईजीपीसँग छ ? कठिन समयमा पाइला पाइलामा दशौं वर्ष जोखिमपूर्ण तवरले फिल्डमा काम गर्ने अधिकृत बढुवामा छुटेका छन् । प्रहरी प्रधान कार्यालयको शाखामा यताको फाइल इन्स्पेक्टर बढुवामा परेका छन् । आर्थिक चलखेल र आसेपासेलाई बढुवा गर्ने भण्डारीले आफ्ना सहकर्मीहरुकोबारेमा गृहमन्त्रीलाई समेत गलत कुरा लगाएको आरोप छ । लाज पनि लजाउनेगरी घर जाने बेला संगठनभित्र अन्यायको बिउ रोप्ने काम भण्डारीले गरेका छन् । प्रहरी नियमावली बढुवाको प्रावधान अन्तर्गत रहेको कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको लगायतका प्रावधानलाई ठाडै लत्याएर शक्तिको चरम दुरुपयोग गर्दै इमान्दार अधिकृतहरुलाई रेटेर डीएसपी बढुवा गरिएको छ ।

    समग्रमा डीएसपी बढुवाका दाबेदार १४६ इन्स्पेक्टरमध्ये १ नम्बर वरियतादेखि ४६ भित्रका २० जनामात्र परेका छन् । त्यसमा पनि कारबाहीमा परेकाहरु बढुवामा परेका छन् । तर कार्यसम्पादनमा उत्कृष्टहरुलाई छुटाइएको छ । ४६ मेरिटपछिका बढुवामा टपक्क टिपेर आर्थिक चलखेलकै आधारमा ल्याइएका छन् । वरियता ४७ देखि १ सयसम्मका १८, १ सय १ देखि १ सय २८ सम्मका ८ जना बढुवामा पर्न सफल भएका छन् ।

    आईजीपी ७७ हजार प्रहरीकै अभिभावक हो । तर उनले आफ्नो जिल्ला अर्घाखाँचीका वरियता नम्बर १ का इन्स्पेक्टर कमल बेल्बासेलाई २ नम्बरमा राखे । पहिले लामो समय आइजिपी सचिवालभित्र काम गरेका बरियता न. २ का इन्स्पेक्टर रञ्जन अवालाई १ न. मा बढुवा सिफारिस गरेका छन् भने आफ्ना अङ्गरक्षक वरियता न. २६ का यमकुमार श्रेष्ठलाई ३ न. मा ल्याए । जिल्लाबासी वरियता न. १११ का इन्स्पेक्टर शंकर पोखरेललाई ४५ नम्बरमा ल्याए भने वरियता १२८ की लक्ष्मी पाण्डेलाई ४६ न मा बढुवा गरे । उनले ४६ मेरिटभित्रकालाई बढुवा गर्ने अडान लिनेतिर भन्दा यिनै ५ जनालाई जसरी नि बढुवा गर्न खोज्दा एआइजी भण्डारीले ६९ नम्बरकी एलिजा गिरीदेखि २६ नम्बरकी चेतना पोखरेललाई नम्बरकी एलिजा गिरीलाई ४ र ६ मा ल्याउने छुट पाए । यी प्रहरीभित्र कार्यक्षमतामा अति कमजोर र जहाँ पनि विवादमा परेका हुन् ।

    कुँवरले आफ्नो निजी निवासमा कार्यरत वरियता न. १५ का इन्स्पेक्टर सुधिर राईलाई ८ नम्बरमा बढुवा गरे । आफ्नै सचिवालय मातहत शाखामा काम गर्ने वरियता न. ५६ का इन्स्पेक्टर रामकुमार राईलाई ४४ न. र वरियता न. १०३ का इन्स्पेक्टर मिङ्मा शेर्पालाई २५ न. मा बढुवा गर्न सफल भएका छन् । जुन बढुवामा ३० लाखसम्मको लेनदेन भएको चर्चा प्रहरी हेडक्वाटरमा छ ।

    त्यस्तै आइजीपीको जोडबलमा वरियता न. ९३ न का केशरकुमार न्यौपाने ३८ नमा बढुवा भएका छन् । बिशेष तवरले बढुवामा परेको भन्ने तथ्य पुष्टि हुने अरु आधार धेरै छन । प्रहरी प्रधान कार्यालय सचिवालयमा पहिलेदेखि नै प्रभाव पार्न सफल फिल्डको कमै अनुभव नभएकी हाल युएन मिसनमा रहेकी बढुवाका लागि बिदामा नेपाल आई शक्तिकेन्द्रलाई प्रभावमा पारी वरियता न. ६९ न की एलिजा गिरी ४ नम्बर मेरिटमा ल्याइएकी छन् । फ्रेसका ईन्सपेक्टरतर्फ १ न. मा उनको बढुवा भएको छ । हेडक्वाटरमै बसेकी फिल्डमा कहिल्यै ड्युटी नगरेकी गिरीलाई वरियतामा यसरी अगाडि ल्याएर क्षमतावानहरुको मनोबल गिराउने काम भएको ।

    कार्यसम्पादनमा कमजोर भएर पनि पटक–पटक राम्रो पोष्टिङ खाएका आईजीपीका जिल्लाबासी मेरिट न. १११ का शङ्कर पोखरेल र मेरिट १२८ की लक्ष्मी पाण्डेलाई बढुवा गर्न खोज्दा बढुवा यतिविघ्न विभेदपूर्ण र घृणित हुन पुगेको स्रोत बताउँछ । फिल्डमा काम गर्ने मेरिटमा अगाडि रहेकी २ जना महिला इन्स्पेक्टरलाई दण्ड दिंदै शक्तिकेन्द्र रिझाउने क्षमता भएकाहरु बढुवामा परेका छन् । ती दुईलाई दण्ड दिंदै बढुवाबाट बन्चित गरी सधै शक्तिकेन्द्रलाई रिझाउन सक्ने ५ जना इन्स्पेक्टरलाई बढुवा गरेको बिषय उत्तिकै पूर्वाग्रहपूर्ण रहेको आरोप छ ।

    त्यस्तै एआईजी सन्दिप भन्डारीले प्रत्यक्ष सम्हालेको मानवस्रोत विभागभित्र आफ्नो शाखामा कार्यरत बरियता न. ५ का ईन्सपेक्टर कमलराज पण्डितलाई सोही वरियतामा बढुवा गराएका छन् । वरियता न. ८ न का अनमोल खड्कालाई ९ नम्बरमा कायम गर्दै वरियता न. ५२ का इन्स्पेक्टर निशान थापालाई ११ मा मा ल्याउन सफल भएका छन् ।

    अख्तियारमा कार्यरत बरियता न. २५ की चेतना पोख्रेललाई ६ न. मा ल्याउन एआईजी भण्डारीको भूमिका उत्तिकै महत्वपूर्ण छ । एआईजी सन्दिप भन्डारीको पुख्र्याैली घर सङ्खुवासभा हो । हाल उनी सुनसरी र काठमाडांै बस्दै आएका छन् । खोटाङ, ओखलढुङ्गा, भोजपुरमा एआईजी भण्डारीका नातेदार रहेका छन् ।

    त्यस्तै प्रहरी प्रधान कार्यालयभित्र महत्वपूर्ण शाखामा कार्यरत भोजपुर घर हुने वरियता न. ५० का निरञ्जन भट्टराई ३५ नम्बरमा ल्याइएका छन् । ओखलढुङ्गा घर हुने बरियता न. ६२ का इन्सपेक्टर ईश्वरीप्रसाद भण्डारी २१ नम्बरमा, सर्लाही घर हुने वरियता न. ७८ को दिपककुमार शाह ३७ मा बढुवा गर्न भण्डारी सफल भएका छन् । अझ रोचक कुरा के छ भने एआईजी भण्डारीले आफ्नो गोपनीयता कायम गर्न आफ्नो बिभागको शाखामा काम गर्ने, आदेश बमोजिम बढुवामा पाउने नम्बर घटबड गरी बढुवाको लिष्ट तयार गर्ने सम्पूर्ण इन्स्पेक्टरलाई बढुवा गर्दै भौगोलिक रुपमा समेत आफ्नो पुख्र्यौली जिल्ला लगायत आफ्नो छिमेकी जिल्ला र आफ्नो प्रदेशभित्रका पहिलेदेखि आफ्नो सम्पर्कमा रहेकालाई प्राथामिकता दिएका छन् । बढुवाको तथ्याङ्कले पनि उनले भौगोलिक रुपमा विभेद गरेको प्रष्ट देखाएको छ । इन्स्पेक्टर निशान थापा एआईजी भण्डारीका जिल्लाबासी हुनुका साथै उनकै शाखामा कार्यरत रहेका छन् । थापाले आफ्नो साढुदाई नाता पर्ने वरियता न. १७ न का इन्स्पेक्टर प्रकाश बुढाथोकीलाई समेत १४ न. भित्र बढुवा गराउन सफल भएका छन् ।

    त्यस्तै संखुवासभा घर हुने वरियता न. ८९ का इन्स्पेक्टर कमल बजगाईलाई २९ मा ल्याउन एआईजी सफल भएका छन । एआईजी भण्डारीले कोशी प्रदेशकै वरियता न. ६० का इन्स्पेक्टर नवराज ढुङ्गेललाई १६ मा ल्याएका छन् । वरियता न. १२४ का बिनोदकुमार सुनुवारलाई २७ न. मा र वरियता न. ४३ का खगेन्द्र धमलालाई ४१न. मा बढुवा गरेका छन् ।

    त्यस्तै सिन्धुली तालिम केन्द्रमा कार्यरत हुदाँ त्यहाँ सहयोग गर्ने खास व्यक्तिको सिफारिसमा सिन्धुली घर भएका कमजोर कार्यक्षमताका वरियता न.२० का रमेशकुमार श्रेष्ठलाई आर्थिक चलखेलकै आधारमा बढुवा गरिएको छ । लामो समय पूर्वमा काम गरेका एआईजी भण्डारीले संखुवासभा, सुनसरी, मोरङ, पाँचथर जिल्ला लगायत छिमेकी जिल्लाहरुमा घर भएका आफ्नो सम्पर्कमा आएका १ न. प्रदेशभित्रका १८ जना इन्स्पेक्टरलाई बढुवा गरेको आरोप छ ।

    सुशासनको भाषण गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उनको सचिवालयका हर्ताकर्ता स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, बिजय गौतम, मानकाजी श्रेष्ठ, सुशन कर्माचार्य समेत ईन्सपेक्टर बढुवामा पारदर्शी हुन सकेन भन्ने कुरा तथ्याङ्कले नै पुष्टि गरेको छ । गृहमन्त्रीको जिल्ला गोरखाका सवै इन्स्पेक्टर बढुवामा पर्न सफल भएका छन् । गोरखा घर हुने बरियता न. ५३ न का इन्स्पेक्टर सुवास भट्टलाई १५ न. मा ल्याइएको छ । वरियता ४० का इन्स्पेक्टर दयाकृष्ण भट्टलाई २८ भित्र पारिएको छ । बरियता न. ४१ का जीवन निरौलालाई ३४ भित्र बढुवा गरिएको छ । गृहमन्त्रीका हर्ताकर्ताहरूले चलखेल गरी लमजुङ घर हुने बरियता न ५१ का ज्ञानबहादुर खड्कालाई २६ नम्बरमा र वरियता ७९ का बिकाश थापालाई ३३ मा बढुवा गरेका छन् ।

    बढुवा हुने लिष्टमा नाम छैन भन्ने सुचना प्राप्त लगतै राति–राति दौडधुप गरेर एआईजी भण्डारीलाई मनाएर केही इन्स्पेक्टर बढुवा भएको स्रोत बताउँछ ।

    त्यस्तै मेरिट न. ११८ न कि शुभद्रा लामा वाईवालाई ३६ न मा ल्याउन समेत एआइजी भण्डारीले चलखेल गरेको आरोप छ ।

    त्यस्तै वरियता न. ९२ न का इन्स्पेक्टर मुक्तिनाथ सापकोटालाई २४ मा , वरियता ६४ का टेकबहादर रावतलाई ३१ मा, वरियता न ८५ न का वीरेन्द्रकुमार पासवानलाई ३२ मा, वरियता ९८ न का चन्द्रबहादुर थापालाई ३९ मा, वरियता न २९ न का अनिल ठकुरीलाई ४० न मा, बरियता १०४ का प्रकाश जबेगुलाई ४२ मा, ९९ का रिपेन्द्र सिंहलाई ४३ मा बढुवा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार