बीरगंज । पर्साको पश्चिमी ग्रामीण भेगमा पर्ने सबैठवा, धोरे, खेस्रहा, भिस्वा, बुढगाई लगायतका सीमानाकामा सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी भइरहेको छ । अर्थतन्त्र मन्दी छ, राजस्व असुली लक्ष्यअनुसार हुन नसकेको बिषयमा मन्त्री, सचिवदेखि सबैले भाषण गरिरहेका छन् । तर भन्सार नाकाबाट तस्करी नियन्त्रण गर्न भने सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।
भन्सार छली तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीकै संरक्षणमा सामानको गलत घोषणा गरी भित्र्याउने क्रम बढेको छ । बीरगंज भन्सार नै सबैभन्दा बढी आयात हुने नाका हो । बीरगंज नाकाबाट ७० प्रतिशत भन्दा बढी आयात हुन्छ । अरु नाकाबाट ३० प्रतिशत मात्र हो । बीरगंज भन्सारबाट राजस्व असुली पनि त्यही अनुसार हुनुपर्ने हो । तर तस्करीका कारण हुन सकेको छैन ।
अर्थतन्त्रमा भन्सारको महत्वपूर्ण योगदान भए पनि सीमानाकामा हुने तस्करीका कारण लक्ष्य अनुसार राजस्व असुली हुन नसकेको अवस्था छ । सीमामा हुने भन्सार छली नियन्त्रण गर्नुपर्ने दायित्व बोकेको सशस्त्र प्रहरीको बीओपीका इन्चार्जकै संरक्षणमा तस्करीको लाइन चलिरहेको गुनासो छ । बीरगंज भन्सारको प्रमु्खका रुपमा काम गरेका एक सहसचिवले सशस्त्र र नेपाल प्रहरीकै असहयोगका कारण तस्करी नियन्त्रणमा सफल नभएको बताएका थिए ।
तस्करी नियन्त्रणमा जानका लागि आग्रह गर्दा गाडी बिग्रिएको जवाफ दिने गरेको अनुभव उनले सुनाएका थिए । बीरगंजमा सरुवा हुने सशस्त्रका गणपति, बीओपी इन्चार्जदेखि नेपाल प्रहरीका प्रमुखसम्मले माथिसम्म दररेट बुझाएर जाने भएकाले उनीहरुले त्यो असुलउपर गर्न पनि तस्करीको लाइन चलाउन छुट दिने गरेका छन् ।
यसैबीच, सशस्त्र प्रहरी बल बिओपी लहावरथकरीका इन्चार्ज डिएसपी केशवराज ओलियाकै संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर ओलियाले तस्करी गर्नेहरुसँग सेटिङ मिलाएको आरोप छ ।
भारतीय प्रसिद्ध बजार सिक्टासंँग जोडिएको सबैठवा सीमानाकाबाट नेपालतर्फ लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु पिकअप भ्यान, इ–रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकलका माध्यमबाट नेपालमा भित्रने गरेको छ । दैनिक लाखौँ र मासिक करोडौं मूल्यबराबरका उल्लेखित सामान भन्सारछली गरी भित्रदा ठूलो रकम राजस्व छली हुने गरेको छ ।
सबैठवाबाट कुखुराको चल्ला, बजारमा लान तयार बोइलर कुखुरा, खसीबोका र माछा भन्सार छली गरी नेपाल भित्रने गरेको छ । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरु यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट संचालन भइरहेको स्थानीयको भनाइ छ । उनीहरुले भारतको सिक्टामा पिकअपबाट झारेर राति राति मोटरसाइकल र भरियाको माध्यमले सबैठवा नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।
त्यसैगरी, भारतसँग जोडिएका पर्साका सबैठवा नाकाबाट रोगी राँगा, भैँसी तस्करी गरी नेपाल भित्र्याउने गरिएको छ । रोगी राँगा, भैँसीसमेत तस्करी गरी जालिम मियाका छोराले संचालन गरेको जगरनाथपुर पशु हाटबजार र परवानीपुरस्थित हबिब मियाँले सञ्चालन गरेको भैँसी बजारसम्म तस्करहरुले पठाउने गरेका छन् । खुलेआम रोगी राँगा, भैंसी भारतबाट नेपालमा भित्रँदा पनि सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले देखेको नदेख्यै गर्दैआएको छ ।
त्यस्तै, भारतमा सस्तो र नेपालमा महंगो भएका कारण सख्खर र गहँुको तस्करी खुब बढेको छ । तस्करहरुले सशस्त्र प्रहरीकै सेटिङमा साइकल र मोटरसाइकलमा २–२ बोरा ल्याई जम्मा गरी ट्याक्टरमा लोड गरेर बीरगंज, परवानीपुर, जितपुरसम्म पठाउने गरेका छन् ।
उता, बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ । यतिमात्र हैन, ती ठाउँबाट प्रहरीकै मिलोमतोमा लागूऔषधको कारोबार पनि फस्टाएको छ ।
सीमानाकाबाट भइरहेको तस्करीका बारेमा सशस्त्र प्रहरी बलका डीएसपी ओलियासँग सोध्दा उनले भने–म स्वयं राति राति धोबियाटोलामा खट्ने गरेको र केही दिनअघि १ लाख ५० हजार रुपैयाँ बराबरको औषधि र कपडा पनि बरामद गरिएको छ । कुखुराका चल्लाको तस्करीको बारेमा आफूलाइ कुनै जानकारी पनि छैन र भएको पनि छैन, ओलियाले भने । सशस्त्र प्रहरीको गण नं. १३ का गणपति एसपी सुमन थपलियासँग खुलेआम भइरहेको तस्करीका बारेमा प्रतिक्रियाका लागि फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend