Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • श्रम मन्त्रालयको एक्सनः १२ बर्षसम्म बैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीहरुको सरुवा


    सोमबार, जेष्ठ ८ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । जनसम्पर्क हुने कार्यालयका काम छिटोछरितो र विना झन्झट गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशन पालना नगर्ने बैदेशिक रोजगार विभाग र मातहतको काठमाडौं कार्यालय ताहाचलका रैथाने कर्मचारीहरुको सरुवा भएको छ ।

    बैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचाार्यदेखि ताहाचलका उपसचिव बसन्तबहादुर बोहराको पनि सरुवा भएको छ । विभागको महानिर्देशकमा मदन दाहाल सरुवा भएका छन् । उनी ३ महिना राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका थिए । उनी महानिर्देशक हुँदा नेपाल इन्भेष्टमेन्टको १४ अर्ब रुपैयाँ कर छलीको अनुसन्धान सुरु गरेपछि उनी सरुवामा परेका थिए । उनलाई नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योति पाण्डे र एक सुन तस्करले ३ महिनामा सरुवा गराएको चर्चा हुने गरेको छ । राजस्व समूहबाट आएका दाहालको सरुवापछि नेपाल इन्भेष्टमेन्ट बैंकको अनुसन्धान रोकिएको छ ।

    विभागमा म्यानपावर दर्ताका लागि न्यूनतम १२ लाख घुस असुली गर्ने र आर्थिक लेनदेन विना म्यानपावरका कुनै पनि फाइल अगाडि नबढाउने बैदेशिक रोजगार बिभाग अन्तर्गतको काठमाडौं कार्यालय ताहाचलका उपसचिव बसन्तबहादुर बोहरा पनि सरुवामा परेका छन् ।

    बैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिनदेखि हरेक कामका लागि बैदेशिक रोजगार कार्यालय ताहाचलका प्रत्येक शाखाका अधिकृत र नासुलाई घुस दिनुपर्ने बाध्यतामा म्यानपावर ब्यवसायीहरु थिए । त्यसको नेतृत्व बसन्त बोहराले गर्दैआएका थिए । सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा सरुवामा आर्थिक लेनदेनमा मुछिएका बोहराले बैदेशिक रोजगार बिभाग ताहाचलमा गएपछि सो कार्यालयमा गएपछि हप्तामै लाखौं रुपैयाँ घुस लिने गरेको आरोप लागेको थियो ।

    माथिसम्म बुझाउनुपर्ने भन्दै उनले सचिव र मन्त्रीका नाममा समेत असुली गरेको पत्तो पाएपछि हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उनीसहित बैदेशिक रोजगार विभागका उपसचिव कृष्णप्रसाद भूसाल, शाखा अधिकृत प्रदीप ढकाललाई पनि मन्त्रालयमा तानेका छन् । ढकाल त १२ बर्षदेखि बैदेशिक रोजगार विभाग बुद्धनगर र ताहाचलमा कार्यरत रहेका डन नै मानिन्छन् । उनको र उनले आफन्तको नाममा लुकाएको सम्पत्ति छानबिन गर्ने हो भने नेपालको एउटा सानो आयोजना नै निर्माण हुने म्यानपावर ब्यवसायीहरु नै बताउँछन् ।

    सरकारले फ्री भिसा फ्री टिकटमा कामदारलाई विदेश पठाउनू भन्छ । तर बैदेशिक रोजगार कार्यालय ताहाचलमा कामदारको श्रम स्वीकृतिका लागि प्रत्येक शाखामा घुस बुझाउनुुपर्छ । फुलिष्टप र कमासमेत हेरेर यो भएन, ऊ भएन भन्दै घुस लिने गरेपछि ब्यवसायीहरुले कसरी फ्री भिसा फ्री टिकटमा कामदार पठाउन सक्छन् ? एक ब्यवसायीको प्रश्न छ ।

    एकपटक अनलाइनकै माध्यमबाट सबै सेवाप्रवाह हुने ब्यवस्था मिलाइएको भए पनि बसन्त बोहरा गएपछि अप्रुभलका नाममा रेष्टुरेन्ट र होटलमा घुस लिने क्रम बढ्यो ।

    त्यतिमात्र होइन, पोर्चुगल, माल्टा, क्रोएसिया, रोमानिया, पोल्याण्ड जस्ता यूरोपियन मुलुकमा बैदेशिक रोजगारीमा पठाउने भनेर प्रतिब्यक्ति १३ देखि १५ लाख रुपैयाँसम्म ठगी भइरहेको छ । यी देशमा कामदार पठाउनका लागि श्रम स्वीकृति लिनका लागि पनि बैदेशिक रोजगार कार्यालय ताहाचलबाट दररेट तोकेर घुस असुली हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार