काठमाडौं । अस्ट्रेलियाका महान स्पीनर स्टुआर्ट म्याकगिलले नेपाली क्रिकेटर सुनाम गौतमको प्रशंसा गरेका छन् । अस्ट्रेलियाका लागि १० वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका सफल लेग स्पीनर म्याकगिलले सुनामको प्रशंसाको साथै उनलाई बीग बास लिग (बीबीएल) मा खेलाउने पर्ने विचार समेत राखेका हुन् ।
यो वर्षको बीबीएलका लागि खेलाडीलाई करार गर्ने प्रक्रिया सुरु भएसँगै बीबीएलका टोलीलाई म्याकगिलले सुनामलाई अनुबन्धन गर्न सुझाव दिएका हुन् ।
मंगलबार ट्वीट गर्दै उनले भनेका छन्, ‘ विपक्षीमाथि टोलीको क्षमता बुझ्दै खेल्न सक्ने साथै अत्यन्त्यै प्रतिस्पर्धात्मक खेल जिताउने स्पीन बलरको खोजीमा कुनै बीबीएल टोली छन् भने ती टोलीले अरु होइन सुनाम गौतमलाई लिनु।’
सुनाम गौतम पछिल्लो केही समयदेखि अस्ट्रेलियाको क्लबस्तरका खेलहरु खेलिरहेका छन् । अलराउण्डरको भूमिकामा खेल्ने गरेका उनको स्पीन बलिङ र ब्याटिङले पनि यसअघि अस्ट्रेलियाको मिडियामा चर्चा पाएको थियो ।
सुनामको बारेमा चर्चित हस्तीले यस्तो टिप्पणी गरेसँगै बीबीएल टोलीले उनको बारेमा अध्ययन गर्ने सम्भावना रहेको बताइन्छ । सोहीकारण सुनामले आफ्नो खुशीको सीमा नै नरहेको भाव व्यक्त गरेका छन्।
म्याकगिलको ट्वीटमा सुनमले खुशी व्यक्त गरेका छन् । उनले रिप्लाईमा लेखेका छन्, ‘म पूरै चकित छु, यो मेरा लागि अत्यन्त्यै ठूलो प्रशंसा हो । मेरो बीबीएल खेल्ने सपना पूरा भएमा म तपाईंलाई नै पहिलो कल गर्ने वाचा गर्दछु, फिंगर क्रश।’
आफ्नो अपार खुशी व्यक्त गर्दै उनले थप लेखेका छन्, ‘म आज सुत्न सक्छु जस्तो लागेको छैन ।’
सोही ट्वीटमा संलग्न हुँदै खेल पत्रकार डेनियल बेसविकले पनि भनेका छन्, ‘अनि उनी ब्याटिङ गर्न पनि उत्तिकै सक्षम छन्।’
बीबीएलमा हालसम्म नेपालबाट स्पीनर सन्दीप लामिछानेले मात्र खेल्ने मौका पाएका छन् । सुनाम पनि कुनै टोलीमा छनोट भएमा उनी बीबीएल खेल्ने दोस्रो नेपाली क्रिकेटर बन्नेछन् । सुनामले नेपालका लागि उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेका थिए ।
