काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद केही मत्थर जस्तो देखिए पनि भातृसंगठनमा झांगिएको विवाद चर्किंदो छ । अनेरास्ववियूमा संयोजक र सहसंयोजकबीचको विवाद चरमोत्कर्षमा पुगेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सह–संयोजक रन्जित तामाङबीच आरोप प्रत्यारोप चलेको मात्र छैन, एक अर्काका बिरुद्ध सामाजिक संजालमा गालीगलौजको बर्षा नै हुन थालेको छ । फरक फरक पार्टी भएको बेला बोलेको अडियो रेकर्ड सार्वजनिक गरेर एक अर्कालाई हिलो छ्यापाछ्याप बढेको छ ।
तामाङले हालै संगठनमा छलफल नै नगरी शैक्षिक क्षेत्रसम्बन्धी २१ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएपछि त्यसलाई महर पक्षले विवादको बिषय बनाएको छ । र, ल क्याम्पसका विद्यार्थी नेता दीपक थापालाई ३ बर्षअघि अखिल क्रान्तिकारीको अध्यक्षको हैसियतमा हुँदा तामाङले गरेको संवादमा बोलेको बंगारा झार्ने बिषयलाई उछालेको छ । जबकि ल क्याम्पसका नेता दीपक थापाले नै ३ बर्षअघि फरक फरक संगठनमा हुँदा भएको फोन संवाद वर्तमान अवस्थामा औचित्यहीन भइसकेको प्रष्ट पारिसकेका छन् । उनले तामाङ अहिले आफ्नो संगठनको नेता भएकाले त्यतिबेलाको बिषयको अडियोको बिषयलाई नचर्काउन पनि उनले आग्रह गरेका छन् । तर पनि संयोजक महरका समर्थक केही विद्यार्थीले ३ बर्षअघिको अडियो प्रकरण सामाजिक संजालमा चर्काउने काम गरि नै रहेका छन् ।
तामाङ समर्थकले भने सामाजिक संजालमा त्रिचन्द्र क्याम्पसमा भएको झडपको एउटा भिडियो भाइरल बनाएका छन् । संयोजक महरसहितको टीमले कलेजको भवन निर्माण गर्न टेन्डरको विषयलाई लिएर खुकुरी र भालासहित क्याम्पस छिरेको भिडियो तामाङ निकट विद्यार्थीहरुले सामाजिक संजालमा भाइरल बनाएका छन् ।
संयोजक र सहसंयोजक दुवै जना शैक्षिक एजेन्डा भन्दा आर्थिक एजेन्डामा केन्द्रित रहेकाले विवाद बढेको स्रोत बताउँछ । दुवै नेताको रहरलाग्दो जीवनशैली छ, तर आम्दानीको स्रोत भने देखिँदैन । महर त महंगो कार चढ्छन् । जबकि उनको कुनै व्यवसाय छैन । अनेरास्ववियुकै आडमा उनले करोडौं कमाएको नेताहरु बताउँछन् । तामाङ पनि आर्थिक रुपमा सबल छन् । नेताहरु पैसा कमाउनमात्र लाग्दा अनेरास्ववियू भने अस्तव्यस्त बनेको छ । अहिलेसम्म एकताको काम समेत सम्पन्न हुन सकेको छैन । देशमा महामारी रहेको बेला कम्युनिष्ट पार्टीका कार्यकर्ता स्वयम्सेवामा खटिनुपर्नेमा संगठनभित्रै मारामार गरेर बसेका छन् ।
पूर्व एमाले र पूर्वमाओवादी समर्थक विद्यार्थीको विवादका रुपमा पनि कतिपयले लिएका छन । तर पूर्व एमालेमा माधव नेपाल निकट विद्यार्थी नेताहरु भने संयोजक र सहसंयोजकको यो विवादमा रमिते बनेका छन् । माधव नेपाल पक्षका विद्यार्थी नेताहरु सुदेश पराजुली, आरती लामाहरु संंयोजक र सहसंयोजकको आरोप प्रत्यारोपमा मौन छन् ।