काठमाडौं । कोरोना संक्रमणको परीक्षण र उपचारको लागि अग्रभूमिकामा रहेको काठमाडौंको वीर अस्पताल अस्तव्यस्त बनेको छ । अस्पतालका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीसहित ७१ जनामा कोरोना संक्रमण देखिएसँगै अस्पतालले ओपीडी सेवा नै बन्द गरेको छ ।
बुधबार बिहानसम्ममा अस्पतालका डाक्टर, नर्सका साथै ल्याब, फार्मेसी, आकस्मिक कक्ष र वार्डमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
उनीहरुमा संक्रमण देखिएसँगै संक्रमितको सम्पर्कमा आएका अन्य ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् । सोहीकारण अस्पतालको सेवा प्रभावित भएको अस्पतालका कार्यकारी निर्देशक केदारप्रसाद सेन्चुरीले जानकारी दिए।
अब बुधबार र बिहीबार ओपीडी सेवा बन्द गरेर त्यस क्षेत्रलाई निर्मलीकरण गरेपछि ओपीडी सञ्चालन गर्न सकिने डा. सेन्चुरीले बताए ।