Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मर्धर सिमसार क्षेत्र बचाउन संघर्ष समिति गठन


    सोमबार, बैशाख ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भू-माफियाले हत्याएपछि मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ ।

    मर्धर सिमसार क्षेत्रमा बसेको स्थानीयहरूको भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समिति गठन गरेको स्थानीय युवा सुदिप गिरीले जानकारी दिएका छन् । समितिको सहसंयोजकमा राजन कार्की र सचिवमा सरोज बछार रहेका छन् ।

    यसैगरी समितिको सदस्यहरूमा सुदिपराज गिरी, थिर कुमारी कार्की, सबिता आचार्य, राजु पराजुली, ध्रुव घिमिरे, अमृत सापकोटा, जोखन बिक, शेरबहादुर तामाङ, थलराज भारती, तेजबहादुर महत, जंगबहादुर थापा, कुमार पहाडी, विनोद कार्की, र विद्या सापकोटा रहेका छन् ।

    समितिले सिमसार क्षेत्रको संरक्षणको लागी सोमबारदेखि नै नगर प्रमुख लगायतका जनप्रतिनिधिहरूसँग छलफल गरेर काम अगाडि बढाउने संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिएका छन् ।

    समितिले सोमबार १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरूसँग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक आचार्यले बताए ।

    जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भू- माफियालले आफ्नो नाममा गरेपछि स्थानीय नागरिकहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । भू-माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कट्ठाका दरले २० टुक्रा गरेका छन् ।

    मर्धर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मर्धरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैयाँ फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत विभिन्न २० जनाको नाममा नामसारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार