काठमाडौं । सोमबार देशभर कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन्। यसमध्ये ३ सय ३ जना महिला हुन् भने ५ सय ९६ जना पुरुष हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ।
आजमात्रै ११ हजार १ सय २९ जनाको पीसीआर गरिएको छ। हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पीसीआर गरिएको छ। आज देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।
त्यसैगरी हालसम्म २१ हजार ४ सय १० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।
देशभरका संस्थागत आइसोलेशन १० हजार जना र होम आइसोलेसनमा ६ हजार रहेका छन् । आजसम्म देशभर ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।