काठमाडौं । चीन-भारत सीमामा दुई देशका सैनिकबीच तनाव बढेको छ । पछिल्ला केहीदिन देखि दुई देशका सैनिकबीच तनाव बढेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भारतीय पक्षका अनुसार २९ र ३० अगष्टको राति चिनियाँ सेना प्याेङगोङ छोको दक्षिणी तटमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको दावी गरिएको छ ।
सोहीकारण भारतीय र चिनियाँ सेना दुवै देशको सीमा जोड्ने पूर्वी लद्दाखमा फेरि झडपको स्थिति सिर्जना भएको छ । गत १५ जूनमा भारत र चीनबीच सीमा जोडिएको क्षेत्रमा विवाद हुँदा २० भारतीय सेनाको ज्यान गएको थियो भने कैयौँ सैनिक घाइते भएका थिए ।
सोमबार बिहान भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा चिनियाँ सेनाले यसअघि भएको सहमतिअनुसार यथास्थितिलाई परिवर्तन गर्न खोज्दा झडपको स्थिति सिर्जना भएको जनाएको छ । गत मध्य जुलाईदेखि भारत र चिनियाँ सेनाबीच पूर्वी लद्दाखको विवादलाई लिएर विभिन्न चरणमा वार्ता हुँदै आएको छ । चीनले भने उक्त विवादबारे खुलाइसकेको छैन ।
दुवै देशबीच प्योङगोङ छोको उत्तरी तटलाई लिएर विवाद हुँदै आएको छ । तर, पछिल्लो पटक भने दक्षिणी तटमा विवाद देखिएको छ । भारत र चीनबीच ४ हजार किलोमिटरको सीमा क्षेत्र छ । एजेन्सीको सहयोगमा