काठमाडौं । पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोना भाइरसका १ हजार २ सय २१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षण गरिएकोमा यी संक्रमित भेटिएका हुन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।
आज भेटिएका संक्रमितमा ३ सय ४८ जना महिला र ८ सय ७३ जना पुरुष रहेका छन् ।आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ ।
यस्तैगरी आइतबार देशभरका विभिन्न अस्पतालबाट २ सय ६७ जना डिस्चार्ज भए । हालसम्म २० हजार ८ सय २२ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट छ । हालसम्म जम्मा ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेशनमा १० हजार ६१२ जना र होम आइसोलेशनमा ६ हजार ९ सय ६ जना रहेको मन्त्रालयले जनाएको छ । आजसम्म देशभर ७ हजार ७ सय ९७ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १७ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा तीनजना भेन्टिलेटरमा रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।