काठमाडौं । कोरोना संक्रमणको जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञामा बन्द गराइएका ‘होम डेलिभरी’ सेवालाई मापदण्ड बनाएर सञ्चालन गर्ने तयारी भएको छ ।
पर्याप्त सावधानी बिना उक्त सेवा दिंदा मानिसको कोरोना संक्रमण फैलन सक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त सेवा रोकेएको थियो । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा आज बसेको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसका लागि एउटा समिति गठन गर्ने निर्य समेत भएको प्रजिअ दाहालले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा गठन गरिएको उक्त समितिमा बाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृत प्रतिनिधि रहेका छन् ।
प्रहरीले बिहीबारदेखि डेलिभरी सेवा रोकेपछि नेपाल इ–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको थियो ।
समितिले इकमर्स कम्पनीसँग समेत सुझाव लिएर निर्णय गर्ने समितिका संयोजक भट्टले जानकारी दिए । डेलिभरी सेवा प्रदायक कम्पनीको साझा फोरमका संयोजक सागरदेव भट्टले होम डेलिभरीलाई बिहान ५ देखि बेलुकी ९ बजेसम्म निर्वाधरुपमा सञ्चालन गर्न दिन तथा सेवामा खटिएका कर्मचारीलाई घर र कार्यालय आवातजावतमा गर्न दिन स्थानीय प्रशासनसँग माग गरे ।
उनले डेलिभरी सेवाका कारण मानिस जोखिम मोलेर घरबाट बाहिर निस्किनुपर्ने बाध्यताको अन्त्य हुने बताए । स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डेलिभरी सबैभन्दा सुरक्षित रहेको उनीहरुको तर्क छ ।
भदौ ११ गते बिना पूर्वसूचना विभिन्न ई-कमर्सका ९९ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा दिएको थियो । उनीहरुलाई निषेधाज्ञा जारी रहेसम्म होम डेलिभरी नगर्ने लिखित प्रतिबद्धता गराएर छाडिएको थियो ।