वीरगञ्ज । कोरोना संक्रमणका कारण पर्साको वीरगञ्ज र सप्तरीमा गरी दुई जनाको कोरोनाबाट मृत्यु भएको छ। वीरगञ्जमा पुरुषको मृत्यु भएको हो भने सप्तरीमा महिलाको मृत्यु भएको हो ।
नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटको राजपुरका ४० वर्षीय युवकको आज बिहान मृत्यु भएको हो। अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार शुक्रबार अस्पताल भर्ना भएका उनको आज बिहान ७ः४० बजे मृत्यु भएको हो। उनी मधुमेहबाट पीडित थिए। उनलाई कोरोना संक्रमण भएपछि निमोनिया पनि देखिएको थियो।
त्यस्तै, सप्तरीको राजविराज नगरपालिका–२ तेतरीगाछीकी ६५ वर्षीया वृद्धाको गएराति मृत्यु भएको छ। उनलाई गजेन्द्रनारायण सिंह अस्पतालबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्ने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए।
उनी शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी थिइन्। शनिबार आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको थियो। ज्वरोसँगै उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो।