Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु: प्रचण्ड


    बिहिबार, चैत्र २३ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।

    प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् ।तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ ।

    गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो ।पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा छ ।

    यही क्रममा माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु र मोर्चाका नेताहरुको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको पक्षमा प्रदेश सभामा मतदान गर्ने नीति पार्टी केन्द्रको नभएको बताएका थिए ।

    भेटमा सहभागी माओवादी केन्द्रका नेता हिमाल किराँतीले भने, ‘कोशी प्रदेशको नाममा मिसअन्डरस्ट्याण्डिङ भयो । अब शान्तिपूर्ण ढंगले सच्याएर समस्याको समाधान कसरी गर्ने भनेर तपाईंहरुले प्रदेशमा पहल गर्नुस्, म पनि पार्टीको तर्फबाट यहाँ पहल गर्छु भनेर प्रधानमन्त्रीले भन्नुभयो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार