Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिक्टाको अरबौं भ्रष्टाचारमा सफाइ दिने आदेशबिरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दर्ता


    मंगलबार, चैत्र २१ २०७९
    2.2K
    Shares
    विक्रम पाण्डे, उद्धवराज चौलागाई र सरोज पण्डित
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । आठ अर्ब भ्रष्टाचार भएको सिक्टा सिंचाई आयोजनाको मुद्दामा विशेष अदालतले गएको असार ५ मा गरेको सफाइ दिने आदेशका बिरुद्ध अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    विशेष अदालतको आदेशबिरुद्ध मंगलबार आयोगले पुनरावेदन गरेको हो । आयोगले कालिका कन्ष्ट्रक्सनका संचालक पूर्वमन्त्री विक्रम पाण्डे,  इआरएमसी र उदय कन्सलटेन्सीका संचालकद्वय उद्धवराज चौलागाई र हेमनिधि शर्मा, सिंचाई विभागका तत्कालीन महानिर्देशक सरोजचन्द्र पण्डितसहित २१ जनाबिरुद्ध बिरुद्ध मुद्दा पुनरावेदन गरेको छ  । विशेष अदालतले घुलनशील माटोका कारण मूल नहर भत्किएको भन्दै सबैलाई सफाइ दिएको थियो । १९ अर्ब खर्च भइसकेको तर अहिलेसम्म सिंचाईको सुविधा पुर्याउन नसकेको सिक्टा सिंचाईमा भएको भ्रष्टाचारमा विशेषले माटोलाई दोष दिएर सफाइ दिएपछि न्यायालयको चर्को आलोचना भएको थियो ।

    राष्ट्रिय गौरबको आयोजनामा भएको अहिलेसम्मकै ठूलो भ्रष्टाचारमा अख्तियारले दायर गरेको यो मुद्दाका प्रतिवादीहरु ठूला माछा थिए । पूर्वमन्त्री तथा क वर्गका ठूला ठेकेदार विक्रम पाण्डे, परामर्श जगतका सबै काम लिने तर कुनै पनि काम समयमा नगर्ने, गुणस्तरीय काम समेत नगरेको इआरएमसीले विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेको स्रोतको दाबी छ । स्रोतका अनुसार विशेष अदालतका रजिष्टार अशोककुमार क्षेत्रीसँग सेटिङ गरी सिक्टामा ठूलो आर्थिक चलखेलमा सफाइ दिइएको थियो । अख्तियारले सर्वोच्च अदालतमा गरेको पुनरावेदनमा स्पष्टरुपमा नहरको डिटेल स्टडी गरी डिजाइन नगरेको उल्लेख छ ।

    अख्तियारले सर्वोच्चमा दर्ता गरेको पुनरावेदनमा उल्लेख छ–फिजिबिलिटी स्टडी रिपोर्टको आधारमा डिटेल स्टडी गरी नहरको डिजाइन गर्नुपर्नेमा गरेको देखिंदैन । उक्त स्थानको माटो कमजोर तथा तटवन्ध निर्माणका लागि जोखिमयुक्त भएको भन्ने उल्लेखित प्रतिवेदनहरुमा स्पष्टरुपमा लेखिएको अवस्था छ । उल्लेखित फिजिबिलिटी स्टडी रिपोर्टहरुमा औंल्याइएका माटोको गुणहरुको सम्बन्धमा बिभागीय दस्तावेजमा उल्लेख भएको कुरा थाहा भएर नै प्रस्तुत नहरको डिजाइन लागत स्टीमेट तथा निर्माणमा Concrete Lining  सहित नहर निर्माण गरिएको स्पष्ट देखिन्छ । हाल आएर घुलनशील माटो थियो भनी पन्छने हो भने Concrete Lining  गर्नुपर्ने औचित्य समेत पुष्टि हुने देखिदैन । अत उल्लेखित प्रमाणको बिश्लेषण नै नगरी प्रतिवादीहरुलाइ सफाइ दिनेगरी भएको फैसला प्रमाण बिश्लेषणको रोहमा त्रुटिपुर्ण रहेको छ ।

    विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दामा प्रतिवादी बनाइएकाहरु निम्नलिखित ब्यक्तिहरु छन्ः दिलीपबहादुर कार्की, सरोजचन्द्र पण्डित, सूर्यदेव थापा क्षेत्री, योगेन्द्र मिश्र, श्यामवहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, बीरसिंह धामी, प्रकाशवहादुर कार्की, मिनराज ढकाल, रविनाथबावु श्रेष्ठ, आशिषभद्र खनाल, कमल प्रसाद रेग्मी, सर्वदेव प्रसाद र रमेश बस्नेत छन् । त्यसैगरी प्रतिवादीहरुमा बिक्रम पाण्डे, युवबहादुर क्षेत्री, उद्दवराज चौलागाईं, हेमनिधि शर्मा र अरुण कुमार चौधरी छन् ।

    पुनरावेदनमा सिक्टा सिंचाइ आयोजनाको गुणस्तरहीन निर्माण कार्य गरी भ्रष्टाचार गरेको उल्लेख छ ।

    अख्तियारले सर्वोच्चमा गरेको पुनरावेदनको विस्तृत विवरणका लागि यो लिंकमा क्लीक गर्नुहोला

    पुनरावेदन-२०७९१२२१-गते

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार