Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने ठगीधन्दामा पूर्व सचिव न्यौपाने र पाण्डेकै मिलेमतो

    अकूत सम्पत्ति आर्जनको लालसा, सचिव पदको गरिमा धुलिसात


    मंगलबार, चैत्र १४ २०७९
    3.6K
    Shares
    नेपाल फेस
  • १६ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेका पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाका स्वकीय सचिव केशवप्रसाद दुलाल, टंक गुरुङ र सानु भण्डारीले नेपालीलाई भूटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लगायतका देशमा पठाउने काम गृहमन्त्रालयका पूर्व सचिव महेश्वर न्यौपाने टेकनारायण पाण्डेकै सहयोगमा गरेको बयान दिएका छन् । उनीहरुले पाण्डेलाई ५० लाख रुपैयाँ घुस दिएको बयान पनि दिएका छन् । पाण्डे गएको भदौ २७ मा गृहमन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा सरुवा भएका बहालवाला सचिव हुन् ।

    नेपालफेसले सोमबार बिहान नेपालीलाई भूटानी शरणार्थी बनाउने समूहको खोजीनीति गरेमा यसमा उच्चपदस्थ अधिकारीहरुकै संलग्नता देखिने समाचार सम्प्रेषण गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले सुजाताका पीए सहित पक्राउ परेका तीनैजनासँग बयान लिंदा करिब २ बर्ष गृहमन्त्रालयको सचिव रहेका न्यौपाने र १ बर्ष कार्यरत पाण्डेको सहयोगमा नेपालीलाई भूटानी बनाउने कार्य गरेको बयान दिएपछि नेपालका उच्च प्रशासकहरुले देशको बदनाम गर्ने र पैसाका लागि कति हदसम्म गिर्न सक्दारहेछन् भन्ने खुलस्त भएको छ ।

    यो ठगीका मुख्य नाइके दाङका सन्देश शर्मा भने अझै पक्राउ पर्न सकेका छैनन् । उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य थिए ।  शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिका घर भएका सुजाता कोइरालाका स्वकीय सचिव केशवप्रसाद दुलालसँग मिलेर नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा पैसा उठाएका थिए । जुन समूहमा पूर्वगृहसचिव न्यौपाने र पाण्डेको मिलेमतो रहेको पक्राउ परेकाहरुको बयानबाट खुलेको छ ।

    २०७७ देखि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर उच्च तहका प्रशासकदेखि राजनीतिक तहका ब्यक्तिसँगको पहुँच देखाएर प्रलोभन र बिश्वासमा पारी ८१ जना पीडितहरुबाट करिब र १३ करोड ६३ लाख भन्दा बढी ठगी गरेको भनि पीडितहरुले दिएको किटानी जाहेरीमा उल्लेख छ । पक्राउ परेका व्यक्तिहरुले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरी तिनका आफन्त र नातागोताका व्यक्तिहरुसमेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धी फर्म भर्न लगाई प्रतिव्यक्ति रु. १५ देखि २० लाखसम्म ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    पक्राउ परेका व्यक्तिहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसँग सेटिङ भैरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसंँग सम्बन्धित बिभिन्न निकायसंग सम्बन्धित पत्र, निर्णयहरु एवं पत्रपत्रिका र अनलाईनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने बिभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धी समाचार समेत पीडितहरुलाई देखाएर काम हुने कुरामा ढुक्क हुन आश्वस्त पार्दैआएका थिए ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धी कार्यदलका सदस्यहरुको समेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताएका छन् ।

    तत्कालीन गृहसचिव न्यौपाने र पछिल्ला गृहसचिव पाण्डेको मिलेमतोमा उनीहरुले भूटानी शरणार्थीको परिचयत्रपत्र बनाएको बयान दिएपछि प्रहरीको अनुसन्धान न्यौपाने र पाण्डेसहितका शरणार्थी समितिका पदाधिकारीतर्फ सोझिएको छ । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने नैतिक दबाब प्रहरीमाथि परेको छ । न्यौपाने अवकाशप्राप्त हुन् भने पाण्डे बहालवाला हुन् ।

    महेश्वर न्यौपाने र टेकनारायण पाण्डे

    अमेरिका पठाइदिन्छु भनेर झुलाउँदै नपठाएपछि पीडितहरूले २०७९ जेठ १८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएका थिए । उनीहरुकै निवेदनका आधारमा केशव दुलालसहित ३ जना आइतबार पक्राउ परेका थिए । अन्य आरोपीहरुको खोजी गरिरहेको छ । आरोपीहरुले बयानमा पूर्व गृहसचिव न्यौपाने र तत्कालीन गृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत पाण्डेलाई ५० लाख बुझाएको बयान दिएका छन् ।

    पूर्वगृहसचिव न्यौपानेसँग यसबारेमा प्रतिक्रिया लिन प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । बहालवाला उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेसमेत सम्पर्कमा आएनन् ।
    ठगीमा संलग्न सन्देश शर्मा, केशव दुलालहरुले पूर्वगृहसचिव न्यौपाने र पाण्डेसँग मिलेमतो रहेको कुरा अमेरिका जान छुटेकाहरूलाई समेट्न तत्कालीन सह–सचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले बुझाएको सुझावमा अनुसूची नै थपेकाले पनि पुष्टि गरेको छ । पन्थीको समितिले बुझाएको प्रतिवेदनको अनुसूचीमा पैसा लिएका मान्छेहरूको नाम थप गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

    न्यौपानेको विवादास्पद बिगत, भान्जाका नाममा अथाह सम्पत्ति

    नेपालका प्रशासकहरुमा पदको दुरुपयोग गरी भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाउनेमा महेश्वर न्यौपाने अग्रपंक्तिमा पर्दछन् । नेपाल प्रहरीको युएन मिसनको परीक्षामा प्रश्नपत्र पहिले नै आउट गरेको बिषयमा छानबिन भयो । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने थिए । छानबिन गर्दै जाँदा एक इन्स्पेक्टर (हाल जागिर छाडिसकेकी छिन्)को म्यासेन्जरमा गृहसचिव न्यौपानेकै म्यासेन्जरबाट परीक्षाअघि प्रश्नपत्र पठाएको खुल्यो । गृहसचिव नै प्रश्नपत्र आउटमा मुछिने भएपछि छानबिन समितिले कामै गर्न सकेन । झारा टार्ने काम भयो । कसैमाथि कारबाही भएन ।

    न्यौपाने गृहमा सरुवा भएपछि मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बन्यो । न्यौपानेले गृहमन्त्रालयमा सचिव हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सरुवा बढुवामा रकममा मात्र ध्यान दिए । उनले आर्थिक संकलनका लागि भान्जा सुजन पौडेललाई परिचालन गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धानको सचिव हुँदा उनै पौडेलका कारण विवादमा तानिएका न्यौपानेले गृह मन्त्रालयको सचिव भएपछि पनि मामाको नाम भजाउँदै रकम संकलनको सबै काम भान्जा सुजनले गर्ने थिए । नेपाल प्रहरीको इन्स्पेक्टरबाट डीएसपी तथा डीएसपीबाट एसपीमा भएका बढुवामा पनि भान्जा सुजनले पैसा उठाएका थिए । त्यसबेला सईबाट इन्स्पेक्टर बढुवामा समेत भान्जालाई बुझाउनेहरु प्रायः छुटेनन् ।

    महेश्वर न्यौपाने र उनका भान्जा सुजन पौडेल

    मामाकोे आडमा धेरैलाई तर्साएर २५औं करोड रुपैयाँ आर्जन गरेको आरोप भान्जामाथि लाग्यो । मामा अख्तियारमा हुँदा अख्तियार देखाएर तर्साउँथे,े गृह देखाएर तर्साउँदै पैसा असुलीलाई निरन्तरता दिए । मामा अख्तियारमा सचिव भएको १५ महिनामै उनले ५० औं रोपनी जग्गा जोडेका थिए । स्रोतका अनुसार काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–३ का नातिराज पौडेलका नाति पुष्कलराज पौडेलका छोरा सुजनसँग आज त्यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर छानबिन गर्ने हो भने त्यो सबै सचिव न्यौपानेको आडमा आर्जन गरेको खुल्नेछ । मामा न्यौपाने अख्तियारमा सचिव हुँदा भान्जा सुजनले के के गरे ? केही तथ्य यस्ता छन्ः

    घटना नम्बर १ ः २०७५ वैशाख १९ मा नापी कार्यालय साँखु काठमाडौंका प्रमुख नापी अधिकृत भागवत साहलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पक्राउ र्गयो । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा रहेको ३६ रोपनी जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग कार्यालय सहयोगी खेमराज भण्डारीमार्फत २ लाख ५० हजार लिएको भन्दै साहलाई कार्यालय परिसरबाट पक्राउ गरिएको थियो ।

    त्यो ३६ रोपनी जग्गा कित्ताकाट गरी २ लाख ५० हजार घुस दिने सेवाग्राही थिए, काठमाडांै जिल्ला गोकर्णेश्वर नगरपालिका ३ बस्ने सुजन पौडेल । त्यो ३६ रोपनी जग्गा पनि उनकै थियो । अख्यिारकै विज्ञप्तिका अनुसार साह आफैंले घुस लिएका थिएनन् । कार्यालय सहयोगी भण्डारीमार्फत् लिन खोजेका थिए । रंगेहात घुस लिँदा लिने व्यक्तिलाई पक्राउ गरिन्छ । करिब दिउँसोको २ बजेको थियो साह कार्यालयमै थिए । कार्यालयको ढोकामा रहेका भण्डारीलाई पौडेलले पैसा हातमा लगाइदिएपछि साहलाई तत्काल पक्राउ गरिएको थियो ।

    घटना नम्बर २ ः २०७५ असोज २१ मा महानगरीय प्रहरी वृत्त, बौद्ध काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ र्गयो । सेवाग्राहीबाट सोनी कम्पनीको टिभी खरिदबापत १ लाख ४० हजार घुस लिएको अरोपमा राईलाई पक्राउ गरियो । सेवाग्राहीको कुनै काम नभएको र फसाउने नियतले टेबुलको घर्रामा पैसा राखेको देखिएपछि विशेष अदालतले राईलाई सफाइ दिएको थियो ।

    सोनी कम्पनी खरिदका लागि १ लाख ४० हजार घुस दिने सेवाग्राही पनि उनै २५ वर्षीय सुजन पौडेल थिए । अख्तियारको विज्ञप्तिमा डीएसपी राईले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनू भनी जिन्सी सामानका रूपमा घुुस–रिसवत माग गरेको र टिभी आफैंले खरिद गरी ल्याउने र सो खरिद गरेबापतको बिल भुक्तानी दिन सेवाग्राहीलाई पटक–पटक फोन गरी घुस मागेको दाबी गरिएको थियो ।

    सुजनको परिवार यसअघि सामान्य परिवारको भएको उनका छिमेकीहरूलाई थाहा छ । सुजन पौडेलका बुबा, अख्तियार सचिव न्यौपानेका भिनाजु पुस्कलराज पौडेल जजमानी पेसा गर्ने पुरोहित हुन् । यसबाहेक उनको परिवारमा कोही पनि रोजगारीमा छैनन् । तर न्यौपाने अख्तियार र गृहमन्त्रालयको सचिव भएको तीन वर्षमा सुजन पौडेलले भने अकूत सम्पत्ति आर्जन गरेको अहिले पनि अख्तियारले नै खोज्ने हो भने भेट्टाउन सक्छ । काठमाडौंको साँखु क्षेत्रमा मात्रै उनको करोडौं मूल्यबराबरको जग्गा रहेको छ । मामा अख्तियारमा सचिव भएको अवधिमा मात्रै उनले करोडौंको जग्गा जमिन खरिद गरेको मालपोत कार्यालयको अभिलेखबाट खुलेको छ ।

    पछिल्लो रेकर्डअनुसार मात्रै साबिक बालुवा गाविस कित्ता नम्बर ३२४ को नक्सा सिट नं. ६, ६ ग, खण्ड नं. को कि नं. ३७९ नम्बरको जग्गा २०७५ वैशाख २७ मा पास गरेका छन् । साबिक बालुवा गाविसकै ३२४ को कित्ता २०७७ वैशाख २७ मै खरिद गरेका छन् । जुन हाल कि.नं. ३७८ हो । बालुवाकै ३८० नम्बर कित्ता जग्गा पनि उनले २०७५ वैशाख २७ मै पास गरेका थिए ।

    त्यसैगरी २०७५ जेठ १ मा साबिक नाङ्लेभारेको कि.नं. ११०, नक्सा सिट नं. ३, ३ ख को जग्गा खरिद गरेको देखिन्छ । नाङ्लेभारेकै साबिक कि.नं. ११३ पनि सोही दिन खरिद गरेका छन् । सुजन पौडेलले नाङ्लेभारेको कि.न.११६ पनि किनेका छन् । यीबाहेक अन्यत्र पनि उनको नाममा धेरै जग्गा जमिन रहेको स्रोतको दाबी छ । भक्तपुर साबिक चित्तपोल गाविसमा १ रोपनी १५ आना जग्गा उनको नाममा देखिन्छ ।

    पाण्डेको बिगत, भूमिब्यवस्थामा हुँदा के के गरे ?

    पाण्डेले भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव हुँदा आर्थिक प्रलोभनमा ताप्लेजुङको निकुन्जको जग्गा ब्यक्तिको नाममा दर्ता गर्न दबाब दिएका थिए । २०७८ साउनमा ताप्लेजुङका आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र नेपाल ट्रष्टका सदस्य योङजोम शेर्पाको प्रभावमा परी सचिव पाण्डेले उक्त जग्गा व्यक्तिका नाममा दर्ता गर्न सहयोग गरेका हुन् । ताप्लेजुङस्थित मालपोत र नापी कार्यालयमा उक्त जग्गा दर्ता दबाब दिएको आरोप लागेको छ ।

    साबिक नापीमा छुटेको भन्दै सचिव पाण्डेले उक्त जग्गा दर्ता गर्न दबाब दिएपछि नापी र मालपोतका प्रमुखहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने चिन्तामा छन् । ताप्लेजुङको फक्तालुङ खम्बाचेन–६ को उक्त जग्गामा ३० वटा टहरा हालसालै बनाएर पहिलादेखि नै बस्ती थियो भनी छुट नापीका नाममा दर्ता गरिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

    भूमिव्यवस्था मन्त्रालयले उक्त जग्गा संरक्षित क्षेत्रको भएकोले वन मन्त्रालयसँग सहमति लिनुपर्ने भन्दै पत्र पठाएको छ । वन मन्त्रालयमा पनि सहमतिका लागि सचिव पाण्डे सक्रियतापूर्वक लागेको स्रोत बताउँछ । पूर्वमन्त्री पद्माकुमारी अर्यालले भूमि व्यवस्था मन्त्रालयमा ल्याएका सचिव पाण्डेको सरुवा अन्यत्र हुँदा पनि उनैले बदर गरेकी थिइन् । गिरिबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवा गर्न भूमि ऐन संशोधन गर्ने क्रममा पद्मा अर्याललाई पाण्डेले सहयोग गरेका थिए । अर्यालको छत्रछायाँमा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतका प्रजातन्त्रवादी र माधव नेपाल पक्षका समर्थक कर्मचारीहरूलाई पेल्ने काम गरेका थिए । गृह प्रशासन र सुरक्षाको शून्य ज्ञान भएपनि अहिले शेरबहादुर देउवाको गठबन्धन सरकार आएपछि उनी एकाएक नेपाली कांग्रेसको खास कार्यकर्ता भन्दै गृह मन्त्रालयको सचिव बन्न सफल भएका छन् ।

    भूमि व्यवस्थामा उनले दुःख दिएका कांग्रेस समर्थक कर्मचारीहरू उनले पेलेको सम्झना गरिरहेको बताउँछन् । गिरीबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवा गर्दा पनि मन्त्री अर्यालले १० करोड भन्दा बढी घुस र दुईवटा गाडी उपहार लिएको समाचार सार्वजनिक भएको थियो । पाण्डेले पनि दररेटअनुसार नै गिरीबन्धुको प्रसाद लिएको आरोप लागेको थियो । हदबन्दी फुकुवामा ऐनको मस्यौदा बनाउँदा असहयोग गरेको भन्दै उपसचिव काजी विष्टलाई तत्कालै उद्योग मन्त्रालयमा सरुवा गर्न पनि उनै सचिव पाण्डेको हात रहेको थियो ।

    पाण्डेको दबाबमा ६ आना गुठीको जग्गा व्यक्तिको नाममा दर्ता

    सचिव पाण्डेले भूमि व्यवस्थामा हुँदा मन्त्रालय, विभाग र कार्यालयहरूबाट सम्पादन हुने कार्यहरूमा हस्तक्षेप गरी गैरकानूनी कार्य गर्न दबाब दिने, नमाने कर्मचारीलाई अपायक सरुवा गर्ने, कासमु रेट्ने गर्दै आएको गुनासो पीडितहरूले गर्ने गरेका थिए । एजुकेशन कन्सल्टेन्सी चलाएर बसेका र विद्यार्थीहरूलाई एमबीबीएस पढ्न चीन पठाउने क्रममा चीन आउने जाने गरेका रमेश आचार्यलाई ६ आना गुठीको जग्गा घुसाएर हालसाबिक गर्न सचिव पाण्डेले दबाब दिएका थिए । सुर्खेत घर भएका रमेश आचार्यसँग शिक्षा मन्त्रालयमा रहँदा पाण्डेको हिमचिम रहेको थियो । आचार्यको जग्गा हालसाविक गर्ने क्रममा उनको जग्गामा ६ आना गुठीको जग्गा घुसाएर गर्न सचिव पाण्डेले नै दबाब दिएका थिए ।

    उक्त गुठीको जग्गा नकटाई हालसाविक गर्न सचिव पाण्डेले नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख दुर्गादास महर्जन र मालपोत कार्यालयका प्रमुख कलक खड्कालाई दबाब दिएका थिए । नापी कार्यालयले गुठीको जग्गा घुसाएर हालसाविक गर्न अस्वीकार गरेपछि सचिव पाण्डेले नापीका सर्वेक्षक महेन्द्र कुँवरलाई नापी विभागमा तानेर आचार्यलाई साविकभन्दा ६ आना बढी गुठीको जग्गा हालेर हालसाविक गराउन लगाएका थिए । साविक नक्साभन्दा अन्य व्यक्तिको जग्गामा गुठीको जग्गा देखाउन लगाई आचार्यको जग्गा हालसाविक गर्न दबाब दिएका थिए । नापी कार्यालयले गुठीको जग्गा रमेश आचार्यको नाममा नापी गर्न नमिल्ने जवाफ दिएपछि सचिव पाण्डेले मालपोतका प्रमुख कलक खड्काबाट पुर्जा दिलाएका थिए ।

    गुठीको जग्गा ६ आनासमेत गरी १५ आना जग्गा रमेश आचार्यको नाममा दर्ता गरी पुर्जा दिइएको छ । गुठीको जग्गा घुसाएर पुर्जा दिने कलक खड्का चावहिल मालपोत कार्यालयमा उमेरहद नाघेपछि पनि जागिर खाएर गतबर्ष अवकाश भएका थिए । सचिवले नै गैरकानुनी रुपमा गुठीको जग्गा घुसाएर पूर्जा दिन दबाब दिएपछि कलकले यस्ता थुप्रै विवादित जग्गा दर्ता गरे । साविकमा बाटो जनाइएका जग्गाहरू पनि धमाधम हालसाविक गर्दै बाटो नै गायब पारेर पुर्जा दिने काम पनि उनले गरेका थिए । सचिव पाण्डको आडमा चावहिल मालपोतका प्रमुख कलक खड्का र मुद्दा फाँटका खरिदार लक्ष्मण बस्नेत मिलेर ५० औं करोडका जग्गा गैरकानूनीरुपमा दर्ता गरेका थिए ।

    शिक्षा सेवाबाट सचिव बनेका, प्रशासन र जग्गा प्रशासनको फिटिक्कै ज्ञान नभएका सचिव पाण्डे शुभलाभ हुन्छ भनेपछि जस्तो काम गर्न पनि तत्पर रहने र आफू मातहतका कर्मचारीलाई अनावश्यक दबाब दिने गर्दथे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार