Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्योग मन्त्रालयमा सहसचिव थुपार्ने, बिभागको महानिर्देशक बनाउन बाहिरका खोज्ने ?


    बुधबार, चैत्र ८ २०७९
    3.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । उद्योग विभागको महानिर्देशक हुनका लागि उद्योग मन्त्रालयभन्दा बाहिरका सहसचिवहरुले बढी चलखेल गर्न थालेका छन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमै ७ जना सहसचिव छन् । उनीहरुमध्येबाटै महानिर्देशक बनाउनुपर्नेमा बाहिरका सहसचिवहरुको दौडधूप र चलखेलले विभागले अपेक्षित लक्ष्य हासिल गर्न सम्भव नहुने उद्योग मन्त्रालयका अधिकारी बताउँछन् ।

    उद्योग मन्त्रालयमा सहसचिवहरु डा. नारायणप्रसाद रेग्मी, बाबुराम गौतम, जीवलाल भूसाल, लीलाप्रसाद शर्मा, चन्द्रकला पौडेल, गोविन्दबहादुर कार्की र राधिका अर्याल कार्यरत छन् । भर्खरै सरुवा भएका मदन भूजेल पनि उद्योग मन्त्रालयमा हाजिर भइसकेका छन् । उनीहरुमध्ये जीवलाल भूसाल उद्योग विभागको महानिर्देशक एक कार्यकाल भइसकेकाले अरु ६ जनामध्ये एकलाई महानिर्देशकको जिम्मेवारी दिए मन्त्रालयमा काम गरेको अनुभवका आधारमा बाहिरबाट आएकाले भन्दा बढी उपलब्धी देखाउन सक्छ । यी सहसचिवहरुमध्ये कतिपय २ बर्षभन्दा बढी समयदेखि उद्योग मन्त्रालयमा कार्यरत छन् । त्यो अनुभवका आधारमा विभागीय प्रमुख बनाउने प्रचलन सुरु गर्ने हो भने त्यसले भविष्यमा मन्त्रालयको नेतृत्व गर्नेहरुलाई समेत मार्गदर्शन गराउने उद्योग मन्त्रालयका अधिकारी बताउँछन् ।

    उद्योग बिभागका महानिर्देशक रामचन्द्र तिवारीले जिम्मेवारी सम्हालेको १ बर्ष पूरा भएकाले उनको विकल्प खोजी हुँदा मन्त्रालयभित्रैबाट अर्का सहसचिवलाई मौका दिनुपर्नेमा उद्योग बाहिरका विवादित सहसचिवहरु शोभाकान्त पौडेल, गृह मन्त्रालयको कसुरजन्य सम्पत्ति विभागका महानिर्देशकबाट मधेश प्रदेशमा सरुवा भएका प्रेमप्रसाद भट्टराईले समेत निकै दौडधूप गरिरहेका छन् ।

    यसअघि एमालेका नेता दामोदर भण्डारी ४२ दिन उद्योग मन्त्री हुँदा उद्योग विभागको महानिर्देशक बनाउन मदन भूजेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा गरी ल्याइएको थियो । तर भूजेल हाजिर नहुँदै भण्डारी मन्त्रीबाट बाहिरिए ।

    उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको बाणिज्य विभागको महानिर्देशक पद पनि रिक्त छ । गएको फागुन १५ गते महानिर्देशक महेश भट्टराई योजना आयोगमा सरुवा भएपछि उक्त पदमा कसैलाई जिम्मेवारी दिइएको छैन । उपसचिव डम्मरुप्रसाद निरौलाले निमित्त महानिर्देशक पद सम्हाल्दैआएका छन् । बाणिज्य विभागको महानिर्देशकमा समेत मन्त्रालयभित्रैका सहसचिवलाई मौका दिनुपर्ने पक्षमा कर्मचारीहरु छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार