Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चोरीको गाडीमा हुइँकिदै महन्थ झा, गुठीको आम्दानीले भारतमा विशाल घर


    सोमबार, भाद्र ८ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • भारतीय नागरिक रविन्द्रनाथ झा र उनीबिरुद्ध दर्ता उजुरी 

    काठमाडौं । सेमरदही मठका महन्थ भारतीय नागरिक रविन्द्रदास वैष्णव भन्ने रविन्द्रनाथ झाले  कानून हातमा लिई चोरीको गाडी चढ्ने गरेका छन् । उनको गाडी चोरीको भन्दै सियारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष घिसन अहिर यादवले छानविन गरी कडा कारबाही गर्नका लागि राजश्व अनुसन्धान विभागमा उजुरी गरेका छन् । झाले बि.आरएस. ०१२१ सफारी गाडी २०७४ सालबाट चढ्दै आएका छन् । यसै विषयमा राजश्व अनुसन्धान कार्यालय वुटवलका प्रमुख धनिश्वर अर्यालसँग सम्पर्क गर्दा छानविन भइरहेको प्रतिक्रिया दिए ।

    गुठी संस्थानका निलम्बित प्रशासक नारायण चौधरी आर्थिक प्रलोभनमा परेपछि भारतीय नागरिकहरुले नेपाली नागरिकता लिएर थुप्रै अनियमितता र भ्रष्टाचारको कामलाई अघि बढाएका छन् । भारतीय नागरिक झाले भारतको नागरिक भए पनि नेपाली नागरिकता लिएर रुपन्देही जिल्लाको समरदेही मठको महन्थमा नियुक्ति हुन सफल भएका थिए । उनलाई नारायण चौधरीले नै नियुक्ति गरेका थिए ।
    पशुपतिका पुजारीहरु दक्षिण भारतका भट्टहरुलाई हटाउन तत्कालीन प्रधानमन्त्री प्रचण्डको पनि पसिना आयो । अन्ततः असफल भए । महन्थ हुनका लागि नेपाली नागरिक अनिवार्य भएका कारण पनि भारतीयलाई नागरिकता दिलाएर धमाधम आर्थिक प्रलोभनमा गुठीका प्रशासक र भूमिब्यवस्था मन्त्रालयका उच्च अधिकारीले उनलाई महन्थ बनाएको खुलेको छ ।

     गृहमन्त्रालयमार्फत् भारतीय नागरिकताको छानविन

    nagarikata 1.jpg

    भारतीय नागरिक रविन्द्रदास वैष्णव भन्ने रविन्द्रनाथ झाले झुट्ठा विवरण दिएर महोत्तरी जिल्लाबाट वंसजको नेपाली नागरिकता लिएको विषयमा गृहमन्त्रालयमा उजुरी परेको छ । २०७६ साल माघ २८ गते गृहमन्त्रालयमा उनले लिएको नागरिकताको विषयमा छानविन गरी दोहोरो नागरिकता लिएका झामाथि कारबाहको मागसहित उजुरी परेको हो ।  उनी भारतको बिहार, मधुबनी जिल्ला, ग्राम पञ्चायत बासुकी बिहारी वडा नम्बर ३ थल्ली ग्राम पर्सामा जन्मेका थिए ।

    उनका बाबु आमा लगायतका परिवारहरु अहिले पनि भारतकै उक्त स्थानमा बसोबास गर्दछन् । उनले नेपालको महोत्तरी जिल्लाबाट २०५५ साल चैत १८ गते नागरिकता प्रमाणपत्र नम्बर १०२८२३०५–४५६ को नेपालको नागरिकता लिएका हुन् । उनका बाबु बुद्धिनाथ झाको भारतको बिहार राज्यको सामान्य विधानसभा निर्वाचक नामावली–२०१५ को डब्लु बी –१३–पीठ ३ ए १३००५० मा फोटो सहित प्रकाशित गरिएको छ ।

    nirabachan.jpg

    त्यसैगरी महोत्तरीबाट बंशजको नागरिकता लिएका रबिन्द्रनाथ झाको भारतीय निर्वाचन आयोगको परिचयपत्र नः Br|13/0074/310053 जिल्ला मधुवनी लेखि जारी गरिएको छ । २८ सेप्टेम्बर ०१५ मा जारी गरिएको उनको परिचयपत्रले भारतीय नागरिक भएको प्रष्ट हुन्छ ।

     जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीमा पनि उजुरी 

    भारतीय नागरिक झाको नागरिकता छानविनका लागि जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीमा पनि उजुरी परेको छ । फागुन ४, २०७४ मा दर्ता नम्बर ८२४ गरिएकोे उजुरीपत्रमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला थाना प्रखण्ड मधवापुर ग्राम पञ्चायत, बासुकी बिहारी उत्तरमा पर्ने रामनगर कजरा वडा नम्बर २ मा पुस्तौं पुस्तादेखि झाको बसोबास रहेको उल्लेख गरिएको छ । झुठो विवरण पेश गरी बंशजको नागरिकता लिन सफल झा भारतीय भएको सम्रमाण उजुरी दर्ता गरिएको उजुरी कर्ताले बताए ।

    कसरी भए भारतीय नागरिक झा महन्थ ?

    भारतीय नागरिक झा गुठी संस्थानका तत्कालीन प्रशासक नारायण चौधरीको कृपाले यो पद प्राप्त गरेका हुन् । महन्थ बन्नका लागि केही रकम दिनुपर्ने भन्दै चौधरीले पदको लिलाम बढाबढ नै गरेका थिए । चौधरी पनि घुस काण्डमै अख्तियार दुरुपयोय अनुसन्धान आयोगले विशेष अदालतमा मुा दायर गरेपछि निलम्बित छन् । उनी सिधै घुस माग्ने र आफूले पनि माथि बुझाउनुपर्छ भन्ने गर्दर्थे  ।

    भारतीय नागरिक झाले मटिहानी राजगुठी अन्तर्गतको रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर ३ स्थित राम जानकी मठको ४१ बिघा जग्गा र यसबाट आएको आम्दानी समेत हिनामिना गरेको स्थानीयका उजुरीमा उल्लेख गरिएको छ । यसअघि मान महन्थ जगन्नाथ दासलाई प्रशासक नारायण चौधरीले काठमाडौंको कालोपुलमा रहेको घरमा बोलाएर घुस मागेको बिषय पनि सार्वजनिक भएको थियो ।

    झाको अवैध सम्पत्ति भारतको पैत्रिक घरमा

    रबिन्द्र नाथ झाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिबाट भारत बिहारको मधुवनीमा विशाल घर बनाएका छन् । १७ वर्षअघि दुई छाक खानका लागि संघर्षरत झाले अहिले भारतमा खरिद गरेको भन्दै चोरीको २८ लाखको गाडी चढ्ने गरेका छन् । उनको अवैध सम्पत्तिको कसैले छानबिन गरेको छैन । आफूलाई राजनीतिक दलका नेता र प्रशासकको आशीर्वाद पाएको हुँदा कसैले पनि केही गर्न नसक्ने उनले बताउँदै आएका छन् । त्यसैकारण जिल्लामा उनको रवाफको अगाडि सामान्य नागरिक निरीह बन्ने अवस्था छ ।

    स्थानीयले दिए मन्त्रीलाई उजुरी

    स्थानीय सियारी गाउँपालिकाका वडा नम्बर ३ रुपन्देहीका जनताले नक्कली नेपाली वंशजका नागरिक रबिन्द्रनाथ झा उर्फ रबिन्द्र दास वैष्णवविरुद्ध भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई उजुरी दिएका छन् । यसै विषयमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता जनकराज जोशीसँग भारतीय नागरिकलाई किन महन्थमा नियुक्ति गरियो भनेर प्रतिक्रिया माग्दा उनले उजुरी दिएको खण्डमा छानविन अगाडि बढाइने बताए ।

    झाका अनियमितताका फेहरिस्त

    भैसाखादर मठको ४० बिघा जमिनको प्रति बिघा ४० हजारका दरले आउने आम्दानी २०५९ साल देखि २०७६ सालसम्म नै पारदर्शी नगरिएको स्थानीयको भनाइ छ । साथै भैसाखादरस्थित रामजानकी मठको निर्माण र मर्मत सुधार कार्यका लागि पटक पटक प्राप्त रकम सार्वजनिक गरिएको छैन ।

    स्थानीय गाउँपालिकाबासीले वडा भेला गरेर गुठी संस्थानबाट हालसम्म कति रकम अनुदान बापत प्राप्त भएको छ भनी प्रश्न गर्दा तपाईहरुको क्षेत्राधिकार भन्दा बाहिरको कुरा किन गर्नुभयो भन्दै धम्की दिएर गुठीका प्रशासक र जग्गा शाखा प्रमुखलाई सोध्नू भन्दै पन्छिएका थिए । मठमा ब्यापक भ्रष्टाचार भएको विषयमा मन्त्रालयमा उजुरी गर्दा गुठी संस्थानलाई नै लेखेर पठाइएको बताइयो । तर, तत्कालीन प्रशासक नारायण चौधरीले कारबाही गर्न आनाकानी गरेको स्थानीयको आरोप छ । भारतीय नागरिक भएर पनि बंशजको नेपाली नागरिकता कसरी लिए त झाले भन्ने प्रश्नमा उनले भने ‘म भारतीय नागरिक भएको भए कसरी नेपाली नागरिकता पाउँथे ? नेपालको प्रशासनले कारबाही गरिहाल्थ्यो नि’ ?

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार