काठमाडौं । काठमाडौँमा अत्यावश्यक सेवामध्ये पानी र औषधि तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसाय चौबीसै घण्टा र अन्य बिक्रीवितरण गर्ने व्यवसाय भने बिहान ९ : १५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । अत्यावश्यकबाहेकका गतिविधि निषेधको आदेश जारी भएको वर्तमान समयमा उक्त आदेश कार्यान्वयनको सिलसिलामा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल जुनसुकै समयमा पनि खुला गर्न पाइने उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
‘उपत्यकावासीको समस्या र कोरोना जोखिमलाई मध्यनजर गर्दै ९ : १५ बजेसम्म तरकारी खाद्यान्न पसल खोल्न दिने निर्णय भएको हो’, उनले भनिन्, यसअघि स्थानीय तहपिच्छे आआफ्नै समय थिए, एकरुपता ल्याउन हामीले यो निर्णय गर्यौँ ।’यसअघि तीनै जिल्लाका फरक फरक स्थानीयतहले फरक फरक समयसम्म पसल खोल्न पाउने समय तोकेका थिए । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो । उनकाअनुसार औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसलभने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिन्छ ।
यद्यपि अत्यावश्य वस्तु र सेवामध्ये खाद्य वस्तु, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदि बिक्रीवितरण गर्ने पसल भने बिहान ९ : १५ बजेसम्म खोल्न पाइने छ । यसरी व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम राख्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गनुृपर्ने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यही भदौ ३ गते राति १२ः०० बजेदेखि भदौ १० गते राति १२ः०० बजेसम्मका लागि उपत्यकाभर लागु हुने गरी अत्यावश्यकबाहेक गतिविधिमा निषेधको आदेश जारी भएको छ । महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रामण रोक्न उक्त आदेश जारी गरिएको हो ।