काठमाडौं । कोरोना भाइरस संक्रमणका बुटवलमा दुई जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एक महिला र एक पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिला र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुष रहेको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ।
साउन ३१ गत कोरोना संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी ती महिलालाई स्वास प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ। उनलाई कोभिड-१९ विशेष अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको आइतबार दिउसो मृत्यु भएको हो ।
त्यस्तै रुपन्देहीकै समसरीमाई २ मुडुलाका ३८ वर्षका पुरुषको पनि बुटवल कोभिड विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। भदौ १ गत संक्रमण पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि उनलाई सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा दिउसो १: १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
यसअघि कपिलवस्तुका २ जना र प्युठानका १ जनाको अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो।