एजेन्सी । यतिबेला कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । संक्रमणका कारण ज्यान गुमाउनेको संख्या उकालो लाग्ने क्रम जारी छ । भारतमा पनि कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।
यस महामारीकाबीच भारतले अहिले कोरोना विरुद्धको खोप उत्पादनलाई तीव्रता दिएको छ । भारतले अहिले कोभिशिल्ड नामक भ्याक्सिनको व्यापक उत्पादन गरिरहेको छ । अक्सफोर्ड विश्वविद्यालयले पत्ता लगाएको सो खोप परीक्षण स्वरुप भारत लगायतको देशमा उत्पादन गर्न दिइएको छ ।
तर अहिले विश्वभर यो भाइरस विरुद्ध थुप्रै खोप बन्ने क्रमले पनि गति पाएको छ । पछिल्लो समय रुसले कोरोना विरुद्ध पहिलो खोप निर्माण गरिसकेको छ । सो खोपको अन्तिम परीक्षण बाँकी नै भएपनि रुसले खोपको प्रयोग सुरु गरिसकेको छ ।
भारतमा उत्पादन भैरहेको कोभिशिल्डको परीक्षण जारी रहेको र सफल भएमा अबको ७३ दिनमा भारतले सर्वसाधारणलाई यो भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको नवभारत टाइम्सले उल्लेख गरेको छ ।
पुणेस्थित कम्पनी सीरम संस्थानले बनाइरहेको यो खोप भारतले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत निःशुल्क बाँड्ने तयारी गरेको छ । तर यसको परीक्षणका लागि कम्तिमा ५८ लाग्ने बताइएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा हर्ष वर्धनले यस वर्षको अन्त्यसम्ममा देशभरि घातक कोरोना भाइरस विरुद्ध खोप आउने जानकारी दिएका हुन्। उनका अनुसार यो वर्षको अन्तिम समम्मा कोरोना भ्याक्सिन आउने सम्भावना रहेको छ ।
कोरोना भ्याक्सिन निर्माणमा वैज्ञानिकहरुले सफलता पाएको र अबको दुई महिनाभित्र ट्रायल पुरा भएपछि कोरोना भ्याक्सिन आउने सम्भावना रहेको उनले बताएका छन् ।
भारत बायोटेकका सीएमडी कृष्ण अल्लाले हरेक महिना १० करोड डोजहरू बनाउने र सुरक्षा र प्रभावकारितालाई ध्यानमा राखी खोप बनाउने तर, सर्टकट नहेर्ने बताएका छन्। अर्कोतर्फ, सीरमले प्रत्येक महिना १ करोड डोजहरू बनाउन सुरु गरिरहेको छ जुन अप्रिल २०२१ सम्ममा प्रत्येक महिना १० करोडमा बढाइनेछ। यसका लागि कम्पनीले यसको खोप निर्माण क्षमता २ अर्ब खर्च गरेर बढाएको छ।
भारतको सेरम संस्थान विश्वको सबैभन्दा ठूलो खोप निर्माता हो। यसले पोलियदेखि दादुरालगायतका खोपहरू सहित हरेक वर्ष १ अर्ब खोपहरू उत्पादन गर्दछ।
बिल र मिलिंडा गेट्स फाउन्डेशनले लगभग ११ अर्ब २५ करोड रूपैयाँमा सीरम कोषमा सहयोग गर्न सहमत भएको छ । यसबाट कम्पनीले कोभिड खोपको करिब १० करोड डोज बनाएर गरीब देशहरूमा पठाउने छ ।
फाउन्डेसनको सहयोगले कम्पनीले खोपको एक डोजको मूल्य १ हजारबाट घटाएर करिब २५० भारु जति कायम गर्ने बताइएको छ ।
भारतमा योसँगै कुल तीन खोपको परीक्षण जारी छ । यी खोप सफल भएमा नेपालले पनि सुपथ मूल्यमा पाउन सक्ने आँकलन गरिएको छ ।