Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई महाबाणिज्यदूत सिफारिसः ल्हासामा ढकाल, हङकङमा राना


    आइतबार, भाद्र ७ २०७७
    3.8K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • नवराज ढकाल र उदय राना

    काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले हङकङ र ल्हासाको रिक्त महाबाणिज्यदूतका लागि दुई सहसचिवको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा झापाका प्रमुख जिल्ला अधिकारी उदय राना र उद्योग मन्त्रालयका सहसचिव नवराज ढकाल छन् । महाबाणिज्य दूत नियुक्ति उद्योग मन्त्रालयको सिफारिसमा सरकारले गर्ने प्रावधान छ । हङकङको बाणिज्यदूतका लागि राना र ल्हासाका लागि ढकाल सिफारिसमा परेको उद्योग मन्त्रालयका अधिकारीले बताएका छन् । बाणिज्य मन्त्रालयको सिफारिस अनुसार मन्त्रिपरिषदको सोमबारको बैठकले राना र ढकाललाई महाबाणिज्यदूतमा नियुक्त गर्ने संभावना प्रबल छ ।

    हङकङ र ल्हासाको महाबाणिज्यदूत पद ५ महिनादेखि रिक्त थियो । ल्हासाका गोविन्द कार्की र हङकङका कमल भट्टराईको कार्यकाल गएको फागुनमै सकिएको हो । महाबाणिज्यदूत नियुक्ति सिफािरस पनि भागबण्डामा गरिएको छ । ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीको कोटामा परेका छन् भने राना गृहमन्त्री रामबहादुर थापा बादलको कोटामा परेको चर्चा निजामती प्रशासन क्षेत्रमा हुन थालेको छ ।

    ढकाल बाणिज्य मन्त्रालयकै भएकाले त्यतिबिधि प्रश्न नउठे पनि गृहमन्त्रालयका राना कुन अनुभवका आधारमा बाणिज्यदूत सिफारिस भए भन्ने बिषयले चर्चा पाएको हो । जबकि बाणिज्य मन्त्रालयमा कम्तीमा २ बर्ष काम गरेको सहसचिवलाई महाबाणिज्यदूतमा पठाउने ब्यवस्था विगतमा थियो । तर भागबण्डाका कारण बाणिज्यमा एक दिन पनि काम नगरेका झापाको सीडीओ राना सिफारिसमा परेका छन् । रामबहादुर थापा गृहमन्त्राी भएपछि गृहमा सबैभन्दा बढी अवसर पाउने सीडीओमा राना र आसमान तामाङ पर्दछन् । थापा गृहमन्त्री भएपछि रानालाई नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारी बनाए । त्यसपछि रुपन्देही, काभ्रे हुँदै झापाको सीडीओमा पठाइएको थियो । झापाको सीडीओबाट उनी हङकङको महाबाणिज्यदूतमा सिफारिसमा परेका छन् ।

    बाणिज्यदूत बन्न लागेका सहसचिव हिस्स

    हङकङ वा ल्हासाको बाणिज्यदूत हुनका लागि कविता समेत लेख्न रुचाउने सहसचिव नेत्र सुवेदी ‘प्रयास’ भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सोझै बाणिज्य विभागको महानिर्देशकमा आए । सुवेदी उद्योग मन्त्रालयमै नआई सिधै बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारीसहित भरतपुरबाट आएका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोझै पहुँच भएकाले आफू महाबाणिज्यदूत हुने कुरामा ढुक्क जस्तै थिए । तर सरकारमा गृहमन्त्री थापा भएकाले उनको जोड चलेन, सीडीओ रानाले बाणिज्यमा टेक्दैनटेकी बाणिज्यदूत हुने मौका पाए । सुवेदी बाणिज्यको अनुभव बटुल्न आए पनि उनी सफल भएनन् ।

    त्यस्तै, हङकङ र ल्हासाको महाबाणिज्यदूत हुने चाहना प्रधानमन्त्री ओलीका निकट सहसचिव तथा हाल आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले पनि राखेका थिए । तर तर उनी पनि हिस्स परेका छन् । सुवेदी र कुँवर जस्ता पावरफुल सहसचिवलाई समेत उछिनेर राना र ढकालले बाजी मारेका छन् ।

    यसअघि एकनारायण अर्याल पनि पावरफुल भएकैले बाणिज्य मन्त्रालयमा टेक्दै नटेकी कोलकाताको महाबाणिज्यदूत भएका थिए । उनी संचार मन्त्रालयमा कार्यरत हुँदा महाबाणिज्यदूत नियुक्त भएका थिए ।

    भूलसुधारः यसअघि हङकङको महाबाणिज्यदूत हुनुपर्नेमा कोलकाता पर्न गएकोमा भूलसुधार गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार