Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई महिनामा प्राधिकरणले गर्यो ४ अर्बको बिजुली निर्यात


    मंगलबार, असोज ४ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौंं । नेपाल विद्युत्  प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा साढे ४ अर्बको बिजुली भारतमा निर्यात गरेकोे छ ।  भदौ महिनामा मात्रै २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
    देशभित्र खपत गरी बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भदौमा निर्यात गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

    सुरुमा दुई वटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युतई स्रोत मानी दैनिकरुपमा ‘आइएक्स’मा बिक्री गरिएको थियो । त्यसपछि गत २७ जेठदेखि दैनिकरुपमा छ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
    प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी रु सात अर्ब १९ करोड ८६ लाख बराबरको रकम आर्जन गरेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले चार महिनाको अवधिमा विद्युत् बिक्रीबाट चार अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत् बिक्रीबाट एक अर्ब ५१ करोड पाँच लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

    हरेक महिना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    ‘चालु आवमा विद्युत् निर्यातबाट करिब रु १६ अर्ब आम्दानी गर्ने लक्ष्य राखेका छौँ, मङ्सिरको पहिलो हप्तासम्म विद्युत् निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने ।

    अब चाडबाड पनि सुरु हुन लागेकाले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ, तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुनेहुँदा करिब दुई सय मेगावाट थप विद्युत् निर्यातको सहमतिका लागि प्रस्ताव पठाएको प्राधिकरणले जनाएको छ ।

    भारतीय पक्षबाट थप विद्युत् निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

    आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरकफरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट नौ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट नौ रुपैयाँ २३ पैसा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार