Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँः प्रदेश प्रमुख गुरुङ


    सोमबार, असोज ३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।

    संविधान दिवस २०७९ का अवसरमा सोमवार गण्डकी प्रदेश सरकार मूल समारोह समितिद्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन् । उनले तीन वटै तहको सरकारले जनताको समृद्धिका लागि काम गर्नुपर्ने बताए । बलिदानीपूर्ण सङ्घर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । 

    उनले भने, ‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचेअनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ । हामीले जनताको घरसम्म पुग्ने गरी काम गर्न आवश्यक छ । जनताका आधारभूत हक अधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ ।’

    प्रदेश प्रमुख गुरुङले वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको बताए । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । 

    उनले संविधानले कल्पना गरेका विषय संविधान निर्माणपछिको समयमा कति कार्यान्वयन भए भन्ने कुराको समीक्षा गरेर अघि बढ्न जरुरी भएको पनि बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार