Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सिट बाँडफाँटबारे काँग्रेस पदाधिकारीहरुको सुझाव : ‘स्थानीय चुनावको मतलाई आधार बनाइयोस्


    सोमबार, साउन २३ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गरेको तीन दिनपछि नेपाली कांग्रेसका शीर्ष नेताहरूले आज आन्तरिक छलफल गरेका छन्।

    सिट बाँडफाँटका आधार के हुने भन्नेमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी सोमबार बालुवाटारमा करिब दुई घन्टा छलफल गरेका हुन्।

    साउन २० मा सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए, जसमा कांग्रेसका तीन सदस्य छन्। महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सिट बाँडफाँट कार्यदलमा सदस्य छन्।

    यो कार्यदलको पहिलो बैठक सोमबार अपरान्ह ३ बजे बालुवाटारमा बस्दैछ। यो बैठकमा जानुअघि पार्टीभित्र सामूहिक धारणा बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शीर्ष नेताहरूसँग सुझाव लिएका हुन्। पार्टी प्रवक्ता प्रकाशशरण महतले कार्यदलका तीन सदस्यलाई पार्टीका नेताहरूले सुझाव दिएको बताए।

    ‘तालमेललाई कसरी अगाडि बढाउने भन्नेबारे नेताहरूले कार्यदल सदस्यहरूलाई सुझाव दिनुभएको छ,’ उनले बालुवाटारमा पत्रकारहरूसँग भने, ‘चुनावी तालमेल र सिट बाँडफाँटबारे पदाधिकारी तथा पूर्वपदाधिकारीले आ-आफ्ना सुझाव दिनुभएको छ।’

    महतका अनुसार अधिकांश नेताहरूले सिट बाँडफाँटको आधार मतलाई बनाउन सुझाव दिएका छन्।

    २०७४ को स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभामा दलहरूलाई प्राप्त मत र गत वैशाखको स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार बनाउनुपर्ने सुझाव कार्यदल सदस्यहरूलाई कांग्रेसका शीर्ष नेताले दिएका छन्।

    प्रतिनिधि सभाका प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये करिब सय सिट आफूहरूले लिनुपर्ने कांग्रेसका नेताहरूले बताउँदै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार