काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको छ । सोमबार बिहान ९:०५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मकवानपुरले जनाएको छ ।
दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
कार्कीका अनुसार सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो।
‘बस र ट्रक हेटौंडातर्फ आउँदै थियो। ट्यांकर विपरीत दिशामा जाँदै थियो,’ कार्कीले भने, ‘त्यही बेला दुर्घटना भएको हो। धेरै ठूलो क्षति भएको छैन। सामान्य नै छ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग पनि खुलाइसकेको छ।