काठमाडौं । नेपाल सुर्तीजन्य उत्पादक संघका अध्यक्ष सुरेश पोखरेल नै तस्करीको सुर्तीसहित पक्राउ परेका छन् । भारतबाट राजस्व छली ल्याएका तयारी सुर्ती १९५ बोरा (८ हजार केजी) र कच्चा सुर्ती (२० हजार २ सय केजी) सहित प्रहरीले पोखरेलसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन १९ गते उनीहरुलाई पक्राउ गरेको हो ।
तस्करीको सुर्ती बरामद गरिसकेपछि राजस्व अनुसन्धान विभाग र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खुको फुलबारी मार्ग, भैंसेपाटीस्थित पञ्चकन्यामार्गमा रहेको २ वटा गोदाम र खोकनामा रहेको न्यू शुभलक्ष्मी सूर्ती उद्योगको गोदाममा सिल गरेको छ ।
पोखरेलको गोदामबाट बरामद तस्करीको सुर्ती
पोखरेल सुर्ती तस्करीका डन नै हुन् । उनले सुर्ती तस्करी अहिले होइन, दसौं बर्षदेखि गर्दैआएका थिए । उनले भारतबाट सुर्ती तस्करी गरी नेपाल ल्याउने र शुभलक्ष्मीको ब्रान्डमा अन्तःशुल्क समेत छली गरी बिक्री बितरण गर्दैआएका छन् ।
उनले विगत धेरै बर्षदेखि तस्करीको सुर्ती नेपालमा ल्याउने र शुभलक्ष्मी ब्रान्डमा अन्तःशुल्क स्टीकर नै नटाँस्ने, नक्कली स्टीकर टाँसेर करोडौं राजस्व छली गर्दैआएका छन् । उनले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक दीर्घराज मैनालीको संरक्षणमा करोडौं करोडको सुर्ती तस्करी गर्दै अन्तःशुल्क समेत छली गर्दैआएका थिए । मैनालीकै आडमा पोखरेलले तस्करी र अन्तःशुल्क छली गरी अकूत कमाउने मौका पाएका हुन् ।
शुभलक्ष्मी सुर्ती उद्योगबाट बरामद सुर्ती
मैनाली राजस्व अनुसन्धान विभागकोे ३ बर्ष महानिर्देशक हुँदा पोखरेलले सुर्ती उद्योगमा एकछत्र राज गर्ने मौका पाए । मैनालीले उनको सुर्ती उद्योगमात्र चल्न दिने र अरुलाई दुःख दिने अभियान नै चलाए । मैनालीका नातेदार समेत र साझेदार रहेका पोखरेलमाथि अन्तःशुल्क छली र नक्कली स्टीकर प्रयोगमा समेत अनुसन्धान गरेमा धेरै तथ्य खुलासा हुने स्रोत बताउँछ ।
मैनालीकै आडमा पोखरेलले नक्कली स्टीकर टाँसेर सुर्तीको कारोबार गर्दैआएका थिए र छन् । न्यू शुभलक्ष्मी सुर्ती उद्योगका पोखरेलले रामेछापको लुभुघाट, सिन्धुलीका खुर्कोट, खोटाङका ऐसेलुखर्क जस्ता पहाडी जिल्लाका बजारमा स्टीकर बिनाको सुर्ती बिक्री गर्दैआएका थिए । राजस्व अनुसन्धान विभागले उनको अहिलेसम्मको कारोबारको अनुसन्धान गरेमा करोडौं करोड अन्तःशुल्क छली गरेको फेलापार्ने उनलाई चिन्नेहरु बताउँछन् ।
मोरङ विराटनगर महानगरपालिका–१२ घर भई ललितपुर महानगर–३ धोबीघाट बस्ने ५३ वर्षीय सुरेश पोखरेल नेपाल सुर्तीजन्य उत्पादक संघका अध्यक्ष हुन् । पक्राउ पर्ने अन्य ३ जनामा सिन्धुली तीनपाटन गाउँपालिका–६ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–११ बस्ने ५६ वर्षीय पोष्टराज गौतम, सर्लाही विष्णु गाउँपालिका–३ घर भई काठमाडौं कुलेश्वर बस्ने ४४ वर्षीय दिनेश चौधरी र सिनामङ्गल बस्ने ३८ वर्षीय अरबिन्द अग्रवाल छन् ।