काठमाडौं । प्रहरीले बीरगञ्जबाट स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मोटरसाइकलको ट्याङ्की तथा सिटमुनी लुकाई राखिएको उक्त नगद भेटिएपछि प्रहरीले मोटरसाइकल र नगदसहित नागरिकलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकको सडकखण्डमा सिमावर्ती रक्सौलबाट बीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा नगदसहित पक्राउ गरेको हो ।
बिआर ५ एन ०२३८ नम्बरको हिरो होण्डा ग्लैमर मोटरसाइकलमा सवार रहेका भारत विहार, पूर्वी चम्पारण, रक्सौल बस्ने राकेश कुमारलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई छिपाई राखेको नगद भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका कुमारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी प्रह्लाद कार्कीले जनाएका छन् ।