पर्सा । पछिल्लो समय पर्साको वीरगञ्जमा कोरोना संक्रमित भेटिने क्रम बढ्दै गएको छ । बिहीबार र शुक्रबार वीरगञ्जमा कोरोनाको कारण दुई जनाको मृत्यु समेत भयो ।
पछिल्लो समयको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमा पर्साले शनिबार बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि बिहीबार जिल्लाको सुरक्षा समितिको बैठक बसेको थियो । सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठककाे माध्यमबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले लकडाउन, कर्फ्यु र निषेधाज्ञा के लगाउने भन्ने विषयमा छलफल भएको र निषेधाज्ञा जारी गर्ने कुरामा सबै एक भएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिएकाे आशंकापछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।
कोरोना भाइरसको संक्रमण रोक्न आवत जावत र परीक्षणकाे दायरा बढाउँदै लैजाने निर्णय भएकाे छ । स्थानीय प्रशासन र पालिकाले आमनागरिकलाई सहयोग गर्नका लागि अपिलसमेत गरेको छ ।
वीरगञ्जमा अहिले ७५ जना सक्रिए संक्रमित रहेको र उनीहरुको गण्डकमा कोभिड अस्पतालमा उपचार भैरहेको छ ।