Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यका कोरोनाको जोखिममा


    शुक्रबार, साउन ९ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ। चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ। बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ। अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन। साना चिया पसलहरूमा चिया चुरोट खानेहरूको भीड पुरानै अवस्थामा फर्किसकेको छ। ठूला क्याफेहरू पनि भरिभराउ हुन थालेका छन्।

    बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरूमा मानिसहरूको घुइँचो थियो। पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन्। पसलेहरूलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको देखिन्छ। पसले भीड लागेकोमा नै खुसी भएको देखिन्थे। सुरुसुरुमा दूरी कायम गरे पनि भीड बढ्न थालेपछि दूरी कायम गराउन नसकिएको पसलेहरू बताउँछन्। ‘सुरुसुरुमा दूरी कायम गरेरै बेच्थ्यौँ,’ चाबहिलका एक तरकारी पसले भन्छन्, ‘लकडाउन खुलेसँगै मान्छे एकै चोटी आउँछन्। दूरी कायम गराउनै सकिँदैन।’

    प्रायः पसलहरूले ग्राहकका लागि स्यानिटाइजरको व्यवस्था हटाइसकेको देखियो। पहिले भएका ठाउँमा समेत अहिले भेटिएन। स्यानिटाइजरको प्रयोग गरेर व्यापारमा खर्च नबढाउने दाउमा क्याफे, पसलका साहुजीहरू भएको अनुमान सहजै लगाउन सकिन्छ। राजधानीका अधिकांश होटल क्याफेमा पहिला ग्राहक बसेको टेबल कुर्सीमा स्यानिटाइज नगरी अर्को ग्राहक बस्ने गरेका छन्। भित्तामा ‘सामाजिक दूरी कायम गरेर बसौं’ लेखिएको छ। तर व्यवहारमा दूरी कायम छैन। मझौला र साना चिया पसलमा त दूरी कायम गर्ने ठाउँ पनि छैन। बस्ने ठाउँ साँघुरो छ। आउने ग्राहकमा पनि खासै सचेतता भएको देखिँदैन। पुरानै अवस्थामा झैँ बस्ने खाने गरेका छन।

    सरकारले लकडाउन खुलाएसँगै बुधबारबाट उपत्यकाभित्र सार्वजनिक सवारीहरू चल्न सुरु गरेका छन्। यात्रा गर्ने धेरै यात्रुहरूको भीड भने देखिँदैन। तर सबै सवारीचालकले सुरक्षा सामग्री भने अपनाएका छैनन्। बिहीबार राजधानीका चलेका सवारी हेर्दा एकाध ड्राइभरले फेस सिल्डसम्म लगाएको देखियो। बाँकीले भने मास्क मुख छोप्नभन्दा पनि चिउडोको सुरक्षा गर्न लगाएका थिए। सवारीमा यात्रुका लागि अरू सुरक्षा नभएको चालकहरूको भनाइ थियो। ‘यात्रुका लागि हामीले दूरी कायम गरेर राख्नेबाहेक अन्य सुरक्षा अपनाएका छैनौं,’ काठमाडौं –भक्तपुरका बस चालक लक्ष्मीनारायण सुलाले भने, ‘कार्यालय समयमा त यात्रुको चाप धेरै भएर दूरीसमेत कायम गराउन सकिँदैन। स्यानिटाइजर राखेर साध्य हुन्न। मास्क यात्रु आफैंले लगाएर चढ्छन्।’ सहरमा कोरोना संक्रमणको सुरक्षा प्रबन्ध हेर्दा लाग्छ, मानिसले अब कोरोनासँगको लडाइ जितिसके। अब सहरमा जोखिम छैन। तर संक्रमित दिनानुदिन बढ्दै छ। बिहीबार मात्रै उपत्यकामा ९ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मानिसहरूले अहिलेको अवस्थालाई लिएर हेलचेक्र्याइँ गर्ने अवस्था नभएको विज्ञहरू बताउँछन। यो समाचार आजको अन्नपूर्णपोष्टमा उपेन्द्र अर्यालले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार