तनहुँ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोमा परी हालसम्म ७ जना ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता छन्। त्यसैगरी ३ जना भने घाइते छन्।
तनहुँ प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसारहराइरहेकाहरूको खोजी कार्य जारी रहेको र घाइतेको तनहुँ र पोखरामा उपचार भइरहेको छ।
पहिरोमा पुरिएर तनहुँको व्यास नगरपालिका ९ माझफाँटका कमला थापा र उनका परिवारका ३ जनाको मृत्यु भएको छ। जसमा कमलाका २४ वर्षीय छोरा मनोज थापा र छोरी २१ वर्षीय अञ्जना थापा छन्। सोही स्थानका ७० वर्षीय वृद्धा मैतकुमारी घर्तीको पनि पहिरोमा परेर ज्यान गएको छ।
यस्तै, म्याग्दे गाउँपालिका ६ बेलौतेडाँडामा पहिरोमा परेर घाइते भएकी १७ वर्षीय लक्ष्मी विक दमौलीस्थित रत्नहरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ।
तनहुँकै ऋषिङ गाउँपालिका ८ पल्ट्याङका ३० वर्षीय भेषबहादुर थापा र उनका बुहारी १९ वर्षीया मनिसरा थापाको पनि ज्यान गएको छ।
पहिरोमा परेका पल्ट्याङकै मृतक भेषबहादुरका श्रीमती २९ वर्षीया नानुमाया थापा, भाइ २२ वर्षीय महादेव थापा र छोरी ५ वर्षीय अमिषा थापा हराइरहेका छन्।
उनीहरूको खोजी जारी रहेको तनहुँ प्रहरीले जनाएको छ।
व्यास ९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास ११ ओडारेका करिब ४५ वर्षीय पदमबहादुर भुजेल पनि पहिरोमा परेर हराइरहेका छन्।
व्यास नगरपालिका ९ माझफाँटमा पनि पहिरोमा परेका २ जना अझै फेला पर्न सकेका छैनन्।