कैलाली । अख्तियार दुरुप्रयोग अनुसन्धानले घुस रकमसहित रंगेहात पक्राउ परेका कैलालीका प्रहरी निरीक्षक(इन्स्पेक्टर) र एक जना कानुन व्यवसायीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
इन्स्पेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पचास हजार घुस बापतको रकम लिइसकेको अवस्थामा असार ११ गते आयोगको कार्यालय, कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको सार्वजनिक हित विपरीतको र जबरजस्ती करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस लिएको अख्तियारले दाबी गरेको छ।
उनीहरू दुबै जनाविरूद्ध जनही पचास हजार बिगो रकम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।