Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुस लिएर कर्मचारी भर्ना गर्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्राडा ढकालसहित ६ जनाबिरुद्ध मुद्दा दर्ता


    मंगलबार, चैत्र १५ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयका प्रा.डा. टेकनाथ ढकालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।  

    परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियारले प्रा.डा. ढकालसहित सहप्राध्यापक केशव घिमिरे, सहप्राध्यापक राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, त्रिविका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो । 

    आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको हो ।  

    सेवा आयोगले २०७३ सालमा लिएको उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक पदको लिखित परीक्षा लिएको थियो । 

    उक्त परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङ्क केरमेट गरेको, अङ्क थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमासमेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको भन्दै उजुरी परेको थियो । 

    उजुरी पश्चात छानविन गर्ने क्रममा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने पाइएको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार