काठमाडौं । इन्धनकाे चरम मूल्य वृद्धि भएकाे भन्दै सरकारलाई नेपाल आयल निगमले सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्न सुझाव दिएकाे छ ।
निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै इन्धन मूल्य वृद्धिको मारबाट जाेगिन आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव समेत गरेको छ ।
अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
‘निगमको आर्थिक अवस्था निकै जर्जर भयो, पेट्रोलियमको मूल्यका कारण देशलाई जोगाउन पनि दुई दिन सार्वजनिक बिदा र जोर बिजोर लागू गर्न पर्ने देखियो’ उपाध्यायले भने ।
मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।