Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • तनहुँमा पहिरोकाे उत्पात: ६ जनाको मृत्यु, पाँच बेपत्ता


    सोमबार, असार २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ । यस्तै पाँचजना बेपत्ता भएका छन् ।

    मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

    मृत्यु हुनेमा माँझफाँटका एकै घरपरिवारका ३ जना छन् । यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको पनि मृत्यु भएको छ ।

    त्यस्तै, व्यास–९ माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बाढीपहिरोका कारण जिल्लामा ५ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको एसपी पौडेलले बताए । उनका अनुसार पहिरोमा परी मृत्यु भएका रिसिङका भेषबहादुरकी २९ वर्षीया श्रीमती नानुमाया, उनकी ५ वर्षीया छोरी अमिषा, भेषबहादुरका २२ वर्षीय भाइ महादेव, महादेवकी १९ वर्षीया श्रीमती मनिसरा थापा र व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा पनि बेपत्ता भएका छन् ।

    यस्तै, पहिरोबाट घाइते भएका व्यास–९ माझफाँटका केशरबहादुर थापा र रिसिङ–८ की ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । केशरको खुट्टामा र ज्योतिको दायाँ हातमा चोट लागेको र दुवैको अवस्था खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।

    पहिरोमा बेपत्ता भएकाको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलनमा सरोकारवाला निकाय तथा स्थानीयसँग समन्वय गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण ठाउँठाउँमा बत्तीका पोलहरु लड्दा बिहानदेखि विद्युत अवरुद्ध भएको छ । पहिरोका कारण अवरुद्ध भएको राजमार्ग अहिले खुलाइएको छ । भित्री सडक भने अझै अवरुद्ध छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार