काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय ९ महिनादेखि मन्त्रीबिहीन छ । उक्त मन्त्रालय ९ महिनादेखि प्रधानमन्त्री शेरबहादुर देउवाको जिम्मामा छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान गजेन्द्र हमाल २ दिन उद्योग मन्त्री भए पनि चर्को बिरोध भएपछि उनले राजीनामा दिन बाध्य भएका थिए । हमालले राजीनामा दिएपछि उद्योग मन्त्री नियुक्त हुन सकेका छैनन् ।
प्रधानन्यायाधीश राणाले कार्यपालिकामा हस्तक्षेप गर्दै भाग खोजेपछि उनलाई प्रधानमन्त्री देउवाले कोटा दिएका थिए । तर त्यसयता गठबन्धनभित्रको दोस्रो घटक नेकपा माओवादी केन्द्रदेखि नेकपा समाजवादी पार्टीसम्मले उद्योग मन्त्रालय मागेका छन् भने कांग्रेसभित्रै पनि मन्त्री हुन चाहना राख्नेको संख्या धेरै भएकाले उद्योग मन्त्रालयले मन्त्री पाउन सकेको छैन । मन्त्री नभएकाले प्रधानमन्त्री देउवाको सचिवालयका स्वकीय सचिव भानु देउवा, उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेल र उद्योग विभागका निर्देशक भक्तराज जोशीको त्रिशंकु टीमले चलाएको छ ।
त्रिशंकु टीमले नै उद्योग मन्त्रालय अन्तर्गतका बिभागहरुमा सरुवा आतंक मच्चाइएको छ । कम्पनी रजिष्टार कार्यालयमा २ महिनादेखि रजिष्टार रिक्त छ । कम्पनी रजिष्टार प्रदीप अधिकारीले बिहान ६ बजेदेखि कामकाज गराई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गराउँदैआए पनि उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेललाई खुसी पार्न नसक्दा उनको सरुवा गरिएको छ । र, सिन्धुपाल्चोक जिल्ला विकास समितिमा सरुवा भइसकेका उपसचिव तुल्सीराम गैरेलाई निमित्त रजिष्टारको जिम्मेवारी दिइएको छ ।
सरुवा भएको २१ दिनभित्र रमाना लिएर सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने उपसचिव गैरेले कम्पनी रजिष्टार कार्यालयलाई घुसखोरी अड्डामा रुपान्तरित गरेको गुनासो ब्यापक छ । कम्पनी अद्यावधिकबाट मात्रै बार्षिक ७५ करोड घुस संकलन हुने कार्यालयका रुपमा कम्पनीको नाम आएको छ । कम्पनी दर्ता, सेयर लगत निकाल्नेदेखि कम्पनी बन्द गराउँदा बार्षिक अर्बकै हाराहारीमा घुस लेनदेन हुने गरेको कार्यालयमा ५ बर्षदेखि गैरे कार्यरत छन् । उनी नै कम्पनीका हर्ताकर्ता हुन् । उनले सचिव पोखरेललाई खुसी पारेकाले सरुवा भए पनि निमित्त रजिष्टारका रुपमा कामकाज गर्ने अवसर पाएका छन् ।
उद्योग मन्त्रालय कि सुदूरपश्चिमे क्लव ?
अर्जुन पोखरेल उद्योग मन्त्रालयका सचिव हुन्, तर उनी उद्योग विभागका उपसचिव र भानु देउवाको सल्लाहमा सबै काम गर्ने गर्दछन् । जोशीकै सल्लाहमा उनले उद्योग विभागमा कार्यरत कर्मचारीलाई निजामती सेवा ऐन नियम बिपरीत सरुवा गरेका छन् । उद्योग विभागको आकर्षक मानिने अनुमति तथा दर्ता शाखाका निर्देशक हुन् भक्तराज जोशी । अर्का सुदूरपश्चिमतिरै घर भएका सुरेश जोशी अर्को घुसखोरी हुने शाखा औद्योगिक सम्पत्ति(ट्रेडमार्क) ‘ख’ का निर्देशक हुन् । भर्खरै डडेलधुरा घर भएका उपसचिव शेरबहादुर बीसीलाई जोशीद्वयले सरुवा गराएर प्रशासन शाखाको प्रमुख बनाइसकेका छन् ।
उद्योग विभागको प्रशासन तथा सुविधा शाखामा २ बर्ष कार्यरत निर्देशक ज्ञानेन्द्र पराजुलीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुर्याएका छन् । उद्योग विभागमा आकर्षक भनिएका अनुमति, ट्रेडमार्क जस्ता शाखाहरुमा पालैपालो निर्देशक परिवर्तन हुने गरेका छन् । तर पराजुलीलाई प्रशासन शाखाबाहेक अरु शाखामा जिम्मेवारी नदिई अहिले त्यहाँबाट महिला मन्त्रालयमा पठाउन भक्त जोशीको टीम सफल भएको छ । उद्योग मन्त्रालयमा भक्त जोशीहरुको टीमले बेमौसममा एकपछि अर्को कर्मचारीलाई सरुवा गर्ने र सुदूरपश्चिमतिरकालाई मात्रै ल्याएका छन् ।
जोशीको टीमले उद्योग विभागमा सरुवा आतंक मच्चाउने क्रममा २ बर्ष नै नभएका दुई अधिकृतलाई पनि आउट गरेका छन् । अधिकृतद्वय नारायण भट्टराई र सुन्दर थापालाई सरुवा गराएका छन् । भट्टराईलाई मन्त्रालयबाटै खेद्न खोजे पनि नसकेपछि दरबन्दी नै नभएको बाणिज्य विभागमा सरुवा गरिएको छ । अर्का अधिकृत सुन्दर थापालाई उद्योग मन्त्रालयमा तानिएको छ ।
जोशीहरुको टीमको सेटिङ अनुसार नचलेकै कारण उद्योगमा सरुवा भएको ७ महिनामै नायबसुब्बाद्वय केशव मैनाली र गंगालाई सरुवा गरियो । तर सरुवाको पत्र तयार नहुँदै बदरको पत्र उद्योग मन्त्रालयका सचिव पोखरेलले लेख्न बाध्य भएको स्रोतले बताएको छ । मैनालीहरु पनि शक्तिशाली भएकाले उद्योग सचिव पोखरेलले सरुवा बदर गर्न बाध्य भएका थिए ।
महानिर्देशक दिनभर गायब, विभागमा भेटिंदैनन्
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी छन् । उनी दिनमा बढीमा ३ घन्टा पनि मुस्किलले विभागमा बस्दैनन् । २ घन्टामा पनि नेपाली कांगे्रसका नेता कार्यकर्ताहरु भेला गरी गफ दिएर बस्ने गर्दछन् । सेवाग्राहीका काममा उनको कुनै ध्यान नै नजाने गरेको गुनासो छ । ढुंगा गिटीका फाइलमा बढी घुस आउने भएकाले उनी पछिल्ला दिनमा त्यस्तै काममा तल्लीन हुने गरेका छन् । ट्रेडमार्कका उजुरीहरुको सुनुवाइमा समेत चलखेल हुने गरेको छ ।