काठमाडौं । सरकारले समुदायमा संक्रमण भए–नभएको पत्ता लगाउन पीसीआर परीक्षण र नमुना संकलनको दायरा बढाउने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो समय संक्रमण बृद्धि भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको आंशका बढेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘संक्रमितको संख्या पूर्णरूपमा घटेको हो–होइन भनेर परीक्षण र नमुना संकलनको दायरा बढाउँछौं ।’ अहिले मुलुकका २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ । हरेक दिन झन्डै ४ हजार व्यक्तिको पीसीआर परीक्षण हुँदै आएको छ ।
क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको मात्र नमुना लिने गरिएकोमा दायरा विस्तार गर्न लागिएको ईडीसीडीका निर्देशक डा. पाण्डेले जानकारी दिए । कोरोनाको उच्च जोखिमका रूपमा रहेका मुलुकका १० वटा जिल्लामा थप नमुना संकलन लिइने भएको छ ।
संक्रमण दर २ प्रतिशत
असारको पहिलो साता ११ प्रतिशतको हाराहारीमा कोरोना संक्रमणको दर थियो । असार १९ गते संक्रमण दर वृद्धि भई १७ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । असार १९ गते सर्वाधिक सात सय ४० जनामा संक्रमण पुष्टि भएको थियो ।
डा. गौतमका अनुसार अहिले संक्रमण दर २ प्रतिशत रहेको छ । आइतबार आयोजित प्रेस ब्रिफिङमा बोल्दै डा. गौतमले थप ८२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । योसँगै मुलुकमा पुष्टि भएका संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।
संक्रमितमध्ये ८ हजार ५ सय ८९ निको भइसकेका छन् । यो कुल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जोखिममा दीर्घरोगी
कोरोना भाइरसबाट ज्यान गुमाउनेमध्ये अधिकांश दीर्घरोगी भएको पाइएको छ । हालसम्म कोरोना भाइरसबाट ३८ जनाको मृत्यु भएको छ । डा.पाण्डेका अनुसार, प्रतिशतका आधारमा शून्य दशमलव २१ प्रतिशतको कोरोना भाइरसबाट मृत्यु भएको हो । ज्यान गुमाएको ३८ मध्ये २४ जनालाई केही न केही खालको दीर्घरोग रहेको छ । डा. पाण्डेले भने, ‘दम, क्यान्सर, मिर्गौलाको रोग, कलेजो रोग, रक्सी पिउने व्यक्ति, अरू विभिन्न खालका लक्षण भएका व्यक्तिमा मृत्यु भएको देखिन्छ ।’ खासगरी ५० वर्ष माथिका व्यक्ति दीर्घरोगी भएको उनको दाबी छ ।
संक्रमितमध्ये अधिकांश लक्षणविहीन छन् शून्य दशमलव तीन प्रतिशत संक्रमितमा मात्र केही लक्षण देखिएको छ । खोकी लाग्ने, ज्वरो आउने र अन्य साधारण खालको लक्षण देखिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम समुदायमा संक्रमण फैलिएको अवस्थामा ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई जोगाउन चुनौती हुने बताउँछन् ।
समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन दोस्रो चरणमा असार २५ गतेबाट मुलुकभर ४५ हजार नमुना लिइने तयारी गरिएको छ । त्यसमध्ये काठमाडौंबाट पाँच हजार नमुना संकलन गरिनेछ। जोखिम क्षेत्र पहिचान भएका र सेवाप्रवाह हुने स्थानबाट नमुना लिइने डा. पाण्डेले बताए । त्यस्तै सेरो प्रेभिलेन्स सर्भेमार्फत् समुदायमा समस्या कति छ ? भनी सातै प्रदेशबाट नमुना संकलन गरिने भएको छ। त्यसका लागि भौगोलिक रूपमा हिमाल, पहाड र तराईबाट नमुना लिइनेछ । सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी २१ हजार स्याम्पल लिएर सर्भे गरिने डा. पाण्डेले जानकारी दिए ।
ट्राभल हिस्ट्री नभएका संक्रमित
घरबाहिर कतै यात्रा नगरेका व्यक्तिमा समेत संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ ।
ईडीसीडीका निर्देशक डा. पाण्डेका अनुसार, समुदायमा संक्रमण भएको आशंकामा उपत्यकाका १२ वटा ठाउँमा नमुना जाँच गरिएको छ । ललितपुरको नक्खुटोल, काठमाडौंको कोटेश्वर, शंखमूल, डिल्लीबजार, टोखा, बूढानीलकण्ठ, कपन, कागेश्वरी मनहरा, भक्तपुरको बोडेलगायत विभिन्न स्थानको नमुना लिइएको थियो। डा। पाण्डेले भने, ‘३ हजार नमुनामध्ये ३ जनामा संक्रमण भएको देखिन्छ । ’
हाल भीडभाड हुने बैंक, मालपोत, कर कार्यालय, ज्वरो नाप्ने स्थान ९ फिभर केन्द्र र उपचारमा संलग्न स्वास्थ्यकर्मीबाट नमुना लिने कार्य अघि बढाइएको छ ।आजको अन्नपूर्ण पोष्टबाट