Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीचौलियाको होइन, बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्नुस्ः पर्यटन मन्त्री भट्टराई


    आइतबार, असार २८ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    आइतबार कोषको समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले बृहत्तर पशुपति क्षेत्र विकास अन्र्तगतका हरेक योजनाहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरु राखेर सार्वजानिक सुनुवाई मार्फत् अगाडि बढाउन निर्देशन दिदै भन्नुभयो–यदाकदा कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ, त्यस्तो काम जो कोहीले गरेको भए पनि राम्रो होइन । जे गर्ने हो त्यो पशुपतिको हितलाई ध्यानमा राखेर मात्र गर्नुहोला ।’

    गत पुस २६ मन्त्री भट्टराईले ८ घन्टा पशुपति क्षेत्रकोे स्थलगत भ्रमण गर्नुभएको थियो । सो भ्रमणका क्रममा तत्कालीन र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिनुभएको थियो । त्यसको कार्यान्वयनको अवस्थाबारे बुझ्न ६ महिनापछि आज मन्त्री भट्टराईले कोषको कार्यालयमै समीक्षा बैठक राख्नुभएको हो । बैठकमा मन्त्री भट्टराईले यस्ता प्रकृतिका सार्वाजानिक संस्थाहरुको सम्पतिमा व्यक्ति तथा समूहको आँखा पर्ने गरेको उल्लेख गर्दै निजी स्वार्थका निम्ति पशुपतिको सम्पत्तिमा दख्खल दिने कार्य नियन्त्रण गर्न समेत कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

    कोषको गोठाटारको जग्गा अतिक्रमणबारे हिजो मात्रै विभिन्न संचार माध्यमहरुमा समाचारप्रति आफ्नोे ध्यानाकर्षण भएको उल्लेख गर्दैै मन्त्री भट्टराईले भन्नुभयो–‘छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्नुस्, कसैले कोषको जग्गामा संरचना बनाएको छ भने ती पनि हटाउनुस् ।’

    पशुपतिलाई राष्ट्रिय गौरवको आयोजनाभित्र राखेर राष्ट्रले प्राथामिकताको सूचीमा राखेको स्मरण गराउँदै भन्नुभयो–‘यहाँ गरिने लगानीले यसलाई पर्यटकीय गन्तव्यका रुपमा थप परिस्कृत त बनाउँछ नै त्यसका अतिरिक्त लगानी गरिसकेपछि राज्यले आम्दानीको समेत अपेक्षा राखेको हुन्छ ।’ तर, यस्ता धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरुमा निजी क्षेत्रको समेत लगानी हुने योजनामा धेरै संवेदनशील हुनुपर्नेमा जोड दिदैं मन्त्री भट्टराईले भन्नुभयो–‘यस्ता स्थलहरुको लगानीका सम्बन्धमा लगानीकर्ताको सार्वजानिक छविलाई पनि ख्याल गरौं ।’ गतवर्ष कोषको बार्षिक बजेट कार्यक्रम आर्थिक बर्ष शुरु भएको तीन महिनापछि आएको स्मरण गराउँदै उहाँले यो वर्ष साउनको दोस्रो हप्ताभित्रै बजेट ल्याउन पनि निर्देशन दिनुभयो ।

    अब मुलुक विस्तारै विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड–१० को त्रासबाट माथि उठ्दै गरेको र सार्वजानिक सवारी साधनहरु पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुलागर्ने गरी तयारी शुरु गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिनुभयो ।

    बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पशुपति क्षेत्र विश्व सम्पदामा सूचीकृत भएको हुनाले यो क्षेत्रमा नयाँ संचरना निर्माण गर्दा युनेस्कोको मापदण्डलाई समेत आधार बनाएर गर्नुपर्ने बताउनुभयो । बैठकमा कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले लकडाउनका समयमा पनि कोषले गरेका कामहरुबारे जानकारी गराउँदै आउने दिने गर्न लागिएका योजनाका सम्बन्धमा बताउनुभएको थियो ।

    पुस २६ मन्त्री भट्टराईले दिनुभएको निर्देशनपछि कोषले लकडाउनको समयमा पनि डेक पार्किङ, बेद विद्याश्रम, डिअर पार्क (मृग उद्यान), भण्डारखालपार्क, बहुउद्देश्यीय सभाहललगायतको निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । आजको बैठकमा यसको प्रस्तुतीकरण (पावर प्रिजेन्टेसन) गरिएको थियो । उक्त प्रतिवेदनलाई पनि सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवासहितको सार्वजानिक सुनुवाई गराएर १५ दिनभित्र मन्त्रालयमा पेस गर्न साथै कोषले तयार पारेको कोषको बेवसाइट, फेसबुक, ट्वीटर लगायतका एप्सहरु आउँदो साउनको पहिलो सोमबारवाट संचालनमा ल्याउन पनि मन्त्री भट्टराईले निर्देशन दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार