काठमाडौं । १० दिनकाे अन्तरालमा पेट्राेलियम पदार्थमा दुई पटक मूल्य वृद्धि गर्ने निर्णय विरुद्ध नेपाल विद्यार्थी संघले सडकमा आएकाे छ । नेपाल आयल निगमले जथाभावी भाउ बढाएकाे भन्दै साे निर्णय फिर्ता लिन माग गर्दै नेविसंघले विराेध गरेकाे हाे ।
आइतबार नेविसंघले निगमकाे बबमहलस्थित कार्यालय घेराउ गरेको छ । नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ पदाधिकारीलगायतले आइतबार मूल्यवृद्धि खारेज गर्न बबरमहलस्थित सडकमा प्रदर्शन पनि गरे।
‘सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै टाउकोमा कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका हुन्। नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार कोरोना कहरका बीच निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकोले विरोध गरिएको हो।
‘पेट्रोलियम पदार्थमा मात्र होइन सबै चिजमा मूल्य बढेकोले नेविसंघ सडकमा आएको हो,’ उनले भने, ‘यो सरकार समृद्ध नेकपा खुसी अरिंगाल भएको छ। समृद्ध नेपाल सुखी नेपाली छैन।’
निगमले असार २६ गते सूचना निकाले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ छ।
नेविसंघ महामन्त्री मनोज वैद्यले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन यसअघि नै ज्ञापन पत्र बुझाए पनि आयल निगमले वेवास्ता गरेकोले प्रदर्शन गर्नुपरेको हो।