चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ गरेकाे छ ।
स्राेतका अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो ।
घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएपछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।
फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो ।
माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले शिक्षक लामिछानेले पटक-पटक उही क्रियाकलाप दोहोर्याएकाले विद्यालयमा पढाउन दिन नसक्ने भन्दै नगर शिक्षा समितिलाई पत्रसमेत लेखेका छन् ।