Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरबारभित्र हेल्थ डेक्स शुरु , कर्मचारीका अलावा सेवाग्राहीले पनि स्वास्थ्य सेवा पाउने


    आइतबार, चैत्र ६ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सात  हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौं सेवाग्राही आउने देशको प्रमुख केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार परिसरभित्र वीर अस्पतालले  हेल्थ डेक्स सन्चालनमा ल्याएको छ । २०७४ फागुन १६ मा स्थापना भएको उक्त स्वास्थ्य सेवा केन्द्र कोभिड–१९ शुरु भएपछि  र स्थानको अभावले बन्द रहेकोमा हाल प्रधानमन्त्री कार्यालयको अनुरोधमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आजदेखि शुरु गरेको हो ।

    हेल्थ डेक्सको उदघाटन नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले गरेका छन् । हेल्थ डेक्स स्वास्थ्य सेवाको शुभारम्भ वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा.  भुपेन्द्र बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँचबाट गरेका छन् ।  बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वीर अस्पतालका दुई जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुनेछ ।

      प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पूर्वी प्रवेशद्वार सँगै साविक राष्ट्रिय पुननिर्माण प्राधिकरण रहेको भवनबाट सेवा शुरु भएको छ  । डेक्समा अक्सिजनसहितको बेड, स्वास्थ्य परीक्षण, ब्लडप्रेसर, सुगर, ड्रेसिङ  लगायत जाँच गरिन्छ भने सुविधासम्पन्न एम्बुलेन्स पनि हुने छ  । स्वास्थ्य परामर्श दिदै आवश्यक औषधि समेत दिइन्छ र स्वास्थ्य अवस्था र आवश्यकता हेरेर सरकारी अस्पतालमा रेफर गरिन्छ । कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचका लागि कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस्, कार्यालय समयको बचत होस् पनि भन्ने हेल्थ डेक्सको उद्देश्य हो ।

    हेल्थ डेक्सले कर्मचारीका साथै सिंहदरबारभित्र आउने सेवागाहीलाई समेत स्वास्थ्य सेवा प्रदान गर्नेछ  भने आवश्यकताको आधारमा समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी रोग, छाला रोग लगायत बिशेषज्ञ चिकित्सक सेवा पनि  दिने योजना रहेको सिंहदरबार हेल्थ डेक्सका प्रमुख बरिष्ठ स्वास्थ्यकर्मी दीपक मुडभरीले बताए । उनका अनुसार प्रधानमन्त्री कार्यालयको पूरै निर्माण कार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भागको भुइँ तल्लामा सुविधासम्पन्न हेल्थ डेक्स र ऐम्बुलेन्स सहित संचालन हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार