Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र


    शुक्रबार, चैत्र ४ २०७८
    470
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मनाङ । हिमाली जिल्ला मनाङमा पुलको निर्माण कार्य नसकिँदै अलपत्र परेको छ।

    सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो।

    हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मर्स्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौंले २०७५ मंसिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो।

    म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन।

    यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ। डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामा बताउँछन्।

    गत असार पहिलो साता मर्स्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रूपबाट स्थानीयले हिँड्नुपर्ने बाध्यता छ।

    उक्त पुल बन्ने हो भने १० मिनेटमै गाउँ पुग्न सकिन्छ तर पुल बनाउने भनी निर्माण थालेर अलपत्र अवस्थामा छाड्दा यहाँका बासिन्दा निराश बनेका छन्।

    निर्माणाधीन अवस्थामा रहेको पुल नखस्दै तथा बाङ्गिएको समयमा निर्माण कम्पनीलाई पुल खस्न लाग्यो भनेर खबर गरे पनि अटेरी गर्दा पुल सबै मर्स्याङ्दीमा खसेको बताइएको छ।

    भाँचिएर खसेको पुल सोझो बनाइनुका साथै स्टिल जडान गरिएका छन् तर, डेढ वर्षअघिदेखि उक्त पुलको निर्माण सम्पन्नतर्फ अघि नबढेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर प्रह्लाद लामिछानेले बताए। 

    पुल निर्माणका लागि यही चैत ३० सम्म म्याद थपिएको उनले जानकारी दिए।

    इन्जिनियर लामिछानेले भने, ‘चैत ३० भित्र पुल निर्माण कार्य नसकिए कारबाही गर्छौं भनेर पत्र पठाएका छौं, कन्ट्याक्टरले असार मसान्तसम्म सकेर ह्यान्डओभर (हस्तान्तरण) गर्ने पत्र पठाएको छ।’

    मनाङ ङिस्याङ गाउँपालिकाको वडा नं ४ र ३ जोड्न निर्माणाधीन ‘स्टिल गर्डर ब्रिज’ को स्टिलका सबै ‘मेम्बर’ जोडेर चार वटा मात्रै बाँकी छँदा पुल मर्स्याङ्दीमा खसेको थियो।

    ठेकेदार कम्पनीले भ्याटबाहेक चार करोड ५१ हजार रुपैयाँमा पुल बनाउने जिम्मा लिएको हो। पैतीस मिटर लम्बाइ र साढे चार मिटर चौडाइको पुल खस्दा कम्तीमा ६० लाख रुपैयाँ क्षति पुगेको अनुमान गरिएको थियो।

    पुल समयमै निर्माण नगर्दा पुल मर्स्याङ्दीमा खसेको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए।

    निर्माण कम्पनीले भने चिसो, हिमपात, कोभिडलगायत कारण देखाउँदै आएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार