Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाेलीमा सुन्न छाडियो मौलिक गीत जोगिरा


    शुक्रबार, चैत्र ४ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • भैरहवा । शुक्रबार तराईमा होली मनाइँदै छ ।  तर होलीमा मौलिकता र संस्कृति छैन । भैरहवासहित तराई क्षेत्रको होलीमा अहिले डिजे, भोजपुरी तथा अश्लील गीतहरू गुन्जिरहेका छन् ।

    पुस्तानन्तरण अभाव र युवाहरूले देखासिकीले होलीको मौलिक गीतहरू हराउँदै गएका छन् । होलीको मुख्य गीतको रूपमा रहेको जोगिरा लोप हुने अवस्थामा छ । गाउनेकाे संख्या न्यून भएकाे र नयाँले यसमा चासो नदिएकाले लोप हुने अवस्थामा पुगेको हो । मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला (एक प्रकारको डम्फु) का तालमा सुनिने जोगिरा गीत अहिले कतै कतै मात्र सुन्न पाइन्छ । 

    रङ र अबिरमा मात्र सीमित रहेको होली मुख्यत: आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीकको पर्व हो । यो पर्वले सामाजिक छुवाछूत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन पनि मनाइन्छ । होलीमा फगुवा गीत गाउने, सम्मवत जलाउने, गाउँभरिको घरघरमा गएर एक आपसमा रंग दल्ने, मिलन गर्ने, मटका फोड्नेलगायतको गतिविधि होलीको दिन वर्षको एकपटक देखिन्थ्यो । तर यस वर्ष यी दृश्यहरू नदेखिएको स्थानीय शिवप्रसादले बताए।

    जोगिरा लोप हुँदै गएको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपलिकाले होली मिलन समारोह गरेर संस्कृतिको संरक्षण गर्ने प्रयास गरेकाे छ । नगरपालिकाले कर्मचारी, स्थानीय, जनप्रतिनिधि, संघसंस्थाको प्रतिनिधित्व, नगरवासीको उपस्थिति गराएर लोपन्मुख जोगिरासहित होलीको इतिहासलाई सम्झाएको छ । ‘जोगिरा भनेको स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दु:ख-सुख व्यक्त गर्ने एक ठाउँ हो । अहिलेको पुस्ताले यसलाई बिर्सिदै गएकाे छ । यसकाे संरक्षणमा हामी आफै लाग्नुपर्छ,’ स्थानीय वीरेन्द्र मिश्राले भने । 

    लुम्बिनी सांस्कृतिक विरहा समूहले लुम्बिनीमा जोगिरा गाए पनि रुपन्देहीको अन्य क्षेत्रमा यसबारे जानकारीसमेत छैन । ‘विशुद्ध रूपमा ग्रामीण होलीको महत्वसहित गाइने गीतको रक्षा गर्नुपर्छ हामीले अन्य समयमा विरहा गाएपनि स्मरणका लागि यस वर्ष जोगिरा गाएको यसलाई संरक्षण गर्न सबै पक्ष लाग्नु पर्छ,’ समूहका गायक राधेश्याम पालले भने । जोगिरा गीतको संरक्षण एवं स्थानीय भाषा र संस्कृतिको रक्षाका लागि लुम्बिनी सांस्कृतिक विरहा समूह पनि लागेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार