एजेन्सी । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप घातक हतियार उपलब्ध गराउने भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको हो ।
एपीका अनुसार स्विचब्लेड–३ सय ड्रोन लगायतका घातक हतियार अमेरिकाले युक्रेनलाई सहयोग गर्ने छ । यसले धेरै टाढा रहेका दुश्मनमाथि पनि सटिक प्रहार गर्नसक्ने समाचारमा उल्लेख छ ।
बुधबार युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए । जेलेन्सीको सम्बोधनको केही घण्टालगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अतिरिक्ति सैन्य सहयोगमा मन्जुरी दिएका थिए ।
युक्रेनमा रुसले आक्रमण थालेपछि अमेरिकाले त्यसको विरोध गर्दै प्रतिबन्ध घोषणा गरेको छ । बुधबार मात्रै पत्रकारहरुसँगको भेटमा बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका थिए । उनको यो अभिव्यक्तिको रुसले अक्षम्य भनेर आलोचना गरेको छ ।
अमेरिकाले युक्रेनलाई गरेको थप सैन्य सहयोग र अमेरिकी राष्ट्रपति बाइडनको पछिल्लो अभिव्यक्तिले रुस–युक्रेन युद्ध अझै लम्बिने अनुमान छ ।