Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संस्कृत पढाउने विद्यालयमा शिक्षक अभाव


    आइतबार, फाल्गुन २२ २०७८
    405
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ।

    खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरूकूल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरूको अभाव भएको हो। 

    विसं २०७० सालमा महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरूकूल विद्यालय स्थापना गरिएको थियो।

    पहिलो चरणमा कक्षा दुई सम्मको अध्यायन अनुमति जिल्ला शिक्षा कार्यालयबाट लिइएकामा हाल कक्षा ६ सम्मको अध्यापन हुने विद्यालयमा एक जना पनि संस्कृत शिक्षक नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयचन्द्र अधिकारीले बताए।

    ‘विशुद्ध संस्कृत भाषाबाट विद्यार्थीलाई अध्यापन गराउन गुरूकूल विद्यालयको स्थापना गरेका हौं’, उनले भने, ‘हामीले सरकारी तथा गैरसरकारी निकायको सहयोग नपाउँदा संस्कृत शिक्षक राख्न सकेका छैनौं।’

    विद्यालयमा पाँच कर्मचारी भए पनि संस्कृत पठाउने गुरू नभएको र विद्यालयको भौतिक पूर्वाधारमा पनि समस्या भएको विद्यालयका प्रधानाध्यापक शशि आचार्यले बताए।

    ‘बेञ्च र डेस्क नहुँदा विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता रहेको छ’, उनले भने, ‘अहिले बजेट अभाव छ, संस्कृत भाषा अध्ययन गराउने गुरू पनि छैनन्। प्रत्येक वैशाखमा भर्ना लिई विद्यार्थीलाई खाने, बस्ने सुविधासहितको विद्यालय बनाउने सोच हो। त्यसो गर्न सकिएको छैन।’

    विद्यालयमा हाल ९२ विद्यार्थी अध्ययनरत रहेको र जिल्लाका रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिकालगायत स्थानीय तहबाट विद्यार्थी भर्ना गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार