काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी जनताको सेवा गर्न निजामती कर्मचारीलाई आग्रह गरेका छन् ।राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा बौल्दै देउवाले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले राष्ट्रसेवक कर्मचारीको व्यवहार सरकारको व्यवहार हुने भएकोले जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने, सुशासनले नै मुलुकको विकास हुने भएकोले कर्मचारीहरु मर्यादित र जिम्मेवार हुन आवश्यक रहेको बताए ।
देउवाले कुनैपनि सरकारको योजनाको सफलता कर्मचारीमा निर्भर रहेको बताउँदै राज्यलाई अगाडि बढाउनका लागि निजामती कर्मचारी मर्यादित र अब्बल रहनुपर्नेमा जोड दिए ।