झापा । रक्तदान जीवनदानको नारालाई साकार पार्दै प्रेस क्लब हल्दिवारीका अध्यक्ष संचारकर्मी नेत्रबिक्रम बिमलीले १०९ औं पटक रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र भद्रपुरमा आज बुधबार बिमलीले १०९ औं पटकको रक्तदान गरेका हुन् ।
२०४५ भदौ १९ बाट रक्तदान गर्न शुरु गरेका बिमली नेपाल पत्रकार महासंघका सदस्य हुन् । महासंघका अलावा उनी आइएफ्जेको सदस्य, राष्ट्रिय फोटो पत्रकार समूहका सदस्य, हल्दिवारी उद्योग बाणिज्य संघका सचिवसमेत हुन् ।
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सदस्य तथा स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्य रहेका बिमली पत्रकारिताका साथै समाजसेवामा सक्रिय छन् । बिमली सबैभन्दा बढी रक्तदान गर्ने पत्रकार हुन् ।