काठमाडौं । चर्को ब्याजदरमा पैसा लगानी गर्ने कार्यलाई मिटरब्याज भनिन्छ । साठीको दशकमा काठमाडौंमा क्यासिनोमा नेपालीहरु जुवा खेल्न जाने क्रम बढेसँगै मिटरब्याजमा लगानी गर्ने क्रम बढेको हो । जुवाको लतमा लागेका नेपालीले हारेपछि हारेपछि घरजग्गा र गाडी राखेर चर्को ब्याजमा ऋण लिंदै क्यासिनोमा जान थाले ।
क्यासिनोमा हारेकाहरुलाई एक लाखको दिनको १ हजार रुपैयाँसम्म ब्याज लिनेगरी मिटरब्याजमा पैसा लगानी गरेर काभ्रेका बीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, राजन भुजेल, कविन शाक्य, अरुण सेढाईहरु रातारात करोडौं हुँदै अरबपति भएका छन् । उनीहरु अहिले पनि यो कारोबारमा सक्रिय नै छन् । मिटरब्याजका डनका रुपमा वीरेन्द्रलाल, बलराम सापकोटा बलेको उदयसँगै महेशबहादुर सिंह उदाएका थिए । उनले त १ करोडको ३ बर्षमा ५ करोड असुली गर्दा पनि सावाँ नदिएको भन्दै धम्की दिएपछि अरबिट इन्टरनेशनल इन्ष्टिच्यूट संचालन गर्दैआएका उद्धव केसी नेपालबाटै पलायन भई जापानमा बस्दैआएका छन् । महेश सिंहले कन्चटमा पेस्तोल तेस्र्याएर चेकमा रकम लेख्न लगाउँथे । वीरेन्द्रलाल श्रेष्ठ र महेशबहादुर सिंहहरुले काठमाडौंमा धेरै नागरिकलाई २० लाख दिएर करोडका घर हडपेका गुनासा धेरै पत्रपत्रिकाले सार्वजनिक गरेका थिए ।
राजन भुजेल सर्वेन्द्र खनाल आइजीपी हुन्जेल प्रहरीको हिटलिष्टमा परेकाले मिटरब्याजको कारोबारमा खुलेर लागेनन् । खनालको अवकाशपछि भूजेल पुनः मिटरब्याजको धन्दामा सक्रिय रुपमा लागेका छन् । मिटरब्याजमा लगानी गर्ने यिनीहरुले प्रहरी अधिकृतहरुको पैसा चलाउने गरेका छन् । प्रहरी अधिकृतको पैसा चलाउँदा डुब्ने संभावना कम भएकाले पनि उनीहरु कुनै न कुनै रुपमा प्रहरीसँग जोडिने गरेका छन् ।
बलराम सापकोटाले मिटरब्याजबाट आर्जित धन होटलमा लगानी गरेका छन् । झापामा मेची क्राउन होटलमा उनको लगानी छ । जहाँ हालसालै क्यासिनो समेत संचालन गर्ने अनुमति लिएका छन् ।
काठमाडौंमा गुन्डागर्दी गर्दै आएका गुन्डा नाइके राजनकुमार भुजेल पनि मिटर ब्याजमा लगानी गर्नेभित्र पर्दछन् । उनी निर्माण ब्यवसायी शरद गौचनको हत्यामा जेल संजाय भुक्तान गरिरहेका गुण्डानाइके समीरमान बस्नेतको समूहमा काम गर्थे । समीरमान पक्राउपछि पनि उनी गुण्डागर्दी र मिटरब्याजको कारोबारमा संलग्न छन् । उनले पनि केही भ्रष्ट प्रहरी अधिकृतको पैसा लिएर मिटरब्याजमा लगाउने गरेका छन् । भूजेल २०७६ असारमा पक्राउ परी छुटेका थिए ।
नेपाल प्रहरीका पूर्वएआइजी किरण गौतम, कल्याण तिमिल्सिना, पूर्व एसपी ढकबहादुर कार्कीहरुले नै भ्रष्टाचरको रकम मिटरब्याजमा लगानी गर्ने क्रम सुरु गरेका हुन् । मिटरब्याजमा लगानी गर्ने बीरेन्द्रला श्रेष्ठ, महेशबहादुर सिंह, कविन शाक्यहरुले प्रहरीको पैसा मिटरब्याजमा लगाउने र नतिर्नेलाई प्रहरी प्रयोग गरी थुनाउने गर्दैआएका छन् । किरण गौतम एआइजी हुँदा त वीरेन्द्रलालको चकचकी थियो कि उनले केही लाख दिएर काठमाडौंका करोडौं मूल्यका धेरै घर हडपेका थिए । वीरेन्द्रलालले पूर्वडीआइजी नवराज सिलवाल(हाल सांसद) को रकम पनि मिटर ब्याजमा लगानी गर्ने गरेको चर्चा हुने गरेको थियो ।
त्यसैगरी, कविन शाक्य पनि मिटरब्याजको धन्दाबाटै रातारात अरबपति हुनेमा पर्दछन् । मिटरव्याजको धन्दा चलाउने वीरेन्द्रलाल श्रेष्ठ, कबिन शाक्य, अरुण सेढाईलगायतको अबैध सम्पत्तिमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन थालेको थियो । तर त्यो उजुरी पनि आर्थिक चलखेलका आधारमा निस्प्रभावी बनाउने काम उनीहरुले गरेका थिए ।
शाक्यले २०७५ चैतमा तीन भारतीय नागरिक लाक्पा शेर्पा, सुमन भण्डारी र युवराज गुरुङलाई क्यासिनो बेल्लिज, रोयल र सांग्रिलामा मेसिन जडान गरी पठाएर १० मिनेटमा १ करोड रुपैयाँ जितेर भागेका थिए । ती भारतीयले राखेको मेसिनले जोकर बाहिर निकाल्ने र नचाहिने तास भित्र पठाउने गरेर उक्त रकम जितेको आरोप प्रहरीले लगाएको थियो ।
५४ लाखको चेक र ४४ लाख २१ हजार नगदसहित क्यासिनोबाट जुवा जितेका ती भारतीयलाई कविन शाक्यले आफ्नै गाडीमा आफैले चलाएर ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा लगेका थिए । होटलमा खाइपिई गरेपछि विवाद र होहल्ला भएपछि प्रहरीलाई खबर गरी उनीहरु पक्राउ परेका थिए । प्रहरीले शाक्यको गाडीबाट ५४ लाखको चेक र ४४ लाख २१ हजार बरामद गरेको थियो । तर, शाक्यले प्रहरी सेटिङ गरी मुचुल्का फेरेर होटलबाट बरामद गरेको भनी उन्मुक्ति पाएका थिए । उनले ठूलै रकम प्रहरीलाई दिएर होटलबाट बरामद भएको भनी मुचुल्का फेरेका थिए । यदि गाडीबाट रकम बरामद भएको मुचुल्का भएको भए लुटपाटको रकम सहित उनको गाडी जफत हुने थियो । उनलाई नायिका सुष्मा कार्कीले छुटाएर लगेकी थिइन् ।
अरुण सेढाई गाडी चोरी तथा मिटरब्याजी गिरोहका नाइके हुन् । उनी गाडी चोरी गरी कीर्ते ब्लुबुक समेत बनाएको अभियोगमा अदालतबाट संजाय भोगिसकेका हुन् । २०६३ कात्तिक २० मा उनलाई कीर्ते ब्लुबुक बनाएर चोरीको गाडी बिक्री गर्ने गरेको आरोपमा कसुरदार ठहर गरेको थियो । पछि तत्कालीन पुनरावेदन अदालत पाटनले पनि जिल्लाकै फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले पनि भन्सार नतिरी ल्याएको गाडीको नक्कली कागजात तयार गरेको अभियोगमा सेढाईलाई दोषी ठहर गरेको थियो । मिटरब्याजी अरुण सेढाई सिक्किमको नक्कली परिचयपत्र बनाउँदै क्यासिनोमा नेपाली प्रवेश गराउने र उनीहरु जुवा हारेपछि मिटरब्याजमा लगानी गर्दैआएका थिए । नेपालीलाई क्यासिनो प्रवेशमा कडाइ गरेपछि उनले नक्कली परिचयपत्र बनाउँदै छिराउने गरेका थिए ।
मिटरब्याजको कारोबार अहिले पनि हुँदैआएको छ । ‘मिटर ब्याज’को अवैध धन्दा रोक्नुपर्ने प्रहरीका उच्च अधिकारीहरु नै त्यसका संरक्षक बन्दैआएका छन् । प्रहरीका नायव उपरीक्षक (डिएसपी) देखि डीआइजीसम्मको पैसा ‘मिटर ब्याज’मा लगाउनेमा थपिएका पात्र हुन,् राजु अवाले । काठमाडौँ–३२ कोटेश्वर स्थायी घर भइ ललितपुर बस्दै आएका अवाले प्रहरी अधिकृतहरुको पैसा ‘मिटर ब्याज’मा लगाइदिने र पैसा नउठेपछि तिनै प्रहरीको शक्ति प्रयोग गरेर असुल्ने काम गरेर करोडौंपति भइसकेका छन् ।
त्यस्तै, जमलस्थित दरबार रोधी घरका सञ्चालक अशोक गिरी पनि जुवाडेलाई मिटरब्याजमा लगाउने धन्दामा सक्रिय रहँदै आएका छन् । दरबार रोधी घरको माथिल्लो तल्लामा मदिरा सेवन गराई जुवा खेलाएर चेक काटेकै भरमा उनले अबैध सम्पत्ति आर्जन गर्दै आएका छन् । पैसावाला जग्गा ब्यापारी र जुवाडेलाई निमन्त्रण दिएर खेल्न बोलाउने र मदिरामा लठ्ठ बनाएर आफैक चेकमा रकम उल्लेख गरी मिटब्याजमा रकम असुल्ने उनको धन्दा नै हो । केही मिटरब्याज पीडित र जुवाडेले गिरीविरुद्ध प्रहरीमा उजुरी दिन लागेका छन् । केही समय अघि स्वयम्भुमा प्रक्राउ परेका जुवाडेहरुमध्ये गिरी पनि एक थिए । गिरीले परिसरका तत्कालिन एसएसपी अशोक सिंहको नाम बेच्दै मिटर व्याजमा रकम दिएकाहरुलाई धम्क्याउने गरेको एक पीडितले बताए ।
अवालेले कोटेश्वर र पाटनमा दुईवटा रेष्टुरेन्ट सञ्चालन गरेका छन् । त्यही रेष्टुरेन्टमा बसेर उनले ‘मिटर ब्याज’को धन्दा चलाउने गरेका छन् । अवालेले आफैँ र प्रहरी अधिकारी प्रयोग गरेर ‘मिटर ब्याज’को पैसा असुल्न थालेपछि पीडितहरु गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयसम्म गुनासो बोकेर पुगेका छन् ।
अवालेले एसएसपी श्यामलाल ज्ञवाली, डिएसपीहरु काजीमान आचार्य, तिलक भारतीलगायतको पैसा ‘मिटर ब्याज’ मा लगाउने गरेको स्रोतले बताएको छ । पीडितहरुका अनुसार मिटरब्याजी अवालेको बसाई नै उपत्यकाका प्रहरी कार्यालयमै हुने गरेको छ ।
त्यसो त अवालेविरुद्ध विभिन्न मुद्दा पनि प्रहरीमा छन् । गएको भदौ ५ गते यौन व्यवसाय चलाएको आरोपमा अवाले पक्राउ परेका थिए । उनीसहित ९ जनाविरुद्ध १७ भदौमा ललितपुर प्रहरीले अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा हालेको छ ।
त्यसैगरी, प्रहरीले नै प्रहरीलाई मिटरब्याजमा पैसा लगानी गर्ने गरेको पाइएको छ । अपराध महाशाखाका असई प्रयासजंग शाहले प्रहरीलाई नै मिटरब्याजमा पैसा लगएको तथ्य खुलेको छ । उनले मिटरब्याजको रकम नतिरेपछि आफ्नै मोवाइल नम्बरबाट छिटो पैसा तिर्न दबाब दिएको म्यासेज नै नेपालफेसलाई प्राप्त भएको छ । दर्जा असई भए पनि शाहले करोडौं रुपैयाँ मिटरब्याजमा लगानी गरेको स्रोत बताउँछ । असई शाहको मिटरब्याजको कारोबारबारे पहिलाका एसएसपी चन्द्रकुबेर खापुङलाई थाहा भए पनि उनले केही कारबाही गरेका थिएनन् । हालका महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवर असई शाहको मिटरब्याज धन्दाबारे अनभिज्ञ नै रहेको स्रोतले बताएको छ । असई शाहले मिटरब्याजको कारोबार गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा समेत गरिएको भए पनि सुनुवाई नभएको पीडितको गुनासो छ । उनले आइजीपीकै रकम समेत लगानी गर्ने गरेको भन्दै पीडितलाई थर्काउने गरेका छन् ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend